म्यान्मारमा विनाशकारी भुकम्पः मृतकको सङ्ख्या ३३५४ नाघ्यो, लाखौँ प्रभावित

एजेन्सी । म्यान्मारमा गएको विनाशकारी भूकम्पबाट मृतकको सङ्ख्या ३ हजार ३ सय ५४ नाघेको छ भने चार हजारभन्दा बढी मानिस घाइते भएका छन् । सरकारी मिडियाका अनुसार, मार्च २८ मा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले देशभरका भवन, सडक, अस्पताल र अन्य पूर्वाधारहरू ध्वस्त पारेका छन् । अहिलेसम्म २२० जना बेपत्ता छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले भूकम्पपछि जारी गरेको आपतकालीन विवरणअनुसार भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गरेको छ । भूकम्पको केन्द्रविन्दु म्यान्माको मध्य भागमा पर्ने मण्डाले सहर नजिकै रहेको बताइएको छ, जहाँ सर्वाधिक क्षति भएको छ ।

विपद् गएको एक हप्ताभन्दा बढी समय बितिसक्दासमेत हजारौँ नागरिक अझै खुला आकाशमुनि बस्न बाध्य छन् । कतिपय आफ्ना घरहरू पूर्णरूपमा ध्वस्त भएका कारण त कतिपय सम्भावित परकम्पको डरले घरभित्र जान सकेका छैनन् । राहतको अभाव, खाद्यान्न र औषधिको चरम संकटको सामना गरिरहेका उनीहरूलाई हालसम्म पनि पर्याप्त सहायता पुर्‍याउन सकिएको छैन ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन सहायता प्रमुख टम फ्लेचरले मण्डाले सहरमा पीडितहरूसँग भेट गरेपछि एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “विनाश आश्चर्यजनक छ। विश्व समुदायले म्यान्माका जनताको साथ उभिनु पर्छ।”

भूकम्पपछिको अवस्था झन जटिल बनाएको कारण म्यान्मामा जारी रहेको राजनीतिक द्वन्द्व हो । सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको निर्वाचित सरकारलाई हटाएर सत्तामा आएको सैन्य जुन्ताले देशभर द्वन्द्व निम्त्याएको छ, जुन अझै समाधान हुन सकेको छैन । यही अस्थिरताबीच गएको भूकम्पले जनजीवनमा थप संकट ल्याएको हो ।

भूकम्पपछि देशका विभिन्न क्षेत्रमा जुन्ताको सैन्य आक्रमण जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । अस्थायी युद्धविराम घोषणा गरिएको भए पनि त्यसपछि पनि कम्तीमा १६ वटा सैन्य आक्रमण भएका छन् ।

यस बीचमा, चीन, रूस र भारत जस्ता देशहरूले उद्धार टोलीहरू म्यान्मा पठाएर राहत प्रयासमा हातेमालो गरेका छन् । संयुक्त राज्य अमेरिकाले पनि पूर्वघोषित २० लाख अमेरिकी डलरमाथि थप ७० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सहयोग आवश्यक भए तापनि देशभित्रको राजनीतिक अवस्थाका कारण राहत आपूर्ति र व्यवस्थापनमा ठूला चुनौतीहरू देखा परेका छन् ।

भूकम्पबाट प्रभावित नागरिकहरूको उद्धार, पुनःस्थापना र आवश्यकताका लागि अझ ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विज्ञहरू बताउँछन् । स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई समन्वय गर्दै तत्काल राहत सामग्री, अस्थायी आवास, खानेपानी र स्वास्थ्य सेवा पुर्‍याउनु म्यान्मारको अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us