विदेशबाट फर्केर च्याउखेतीमा : वार्षिक ६० लाख आम्दानी

स्मिता अर्जेल

मकवानपुरगढी। मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो ।

सात वर्षअघि विदेशबाट फर्किएर देशमै बसेर खेती किसानी गरी परिवार सम्हाल्ने सोच बनाएपछि हेटौंडा –८ कमानेमा १० कठ्ठा जमिन भाँडामा लिएर उहाँले च्याउ खेती सुरु गर्नुभएको हो ।

पन्ध्र लाख रुपियाँ लगानी गरी सुरु गरेको च्याउ खेतीबाट वार्षिक ६० लाख आम्दानी हात पार्ने गरेको लामा सुनाउनुहुन्छ । आम्दानीले चार संख्याको परिवार पालिएको उहाँ बताउनुहुन्छ ।

गत २०७८ सालमा बन्दीछोड एग्रीकल्चर प्रालिको नाममा फर्म दर्ता गरेर सुरु भएको खेती अहिले १६ वटा टनेलमा च्याउ फल्ने गरेका छन् । हेटौंडामा मात्र नभएर बुटवल, काठमाडौं र नारायणघाटसम्म पनि च्याउ बिक्री हुनेगरेको उहाँ बताउनुहुन्छ ।

हेटौंडामा मात्र नभएर मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने सुपिङमा पनि च्याउ खेती गरिरहेको उहाँ सुनाउनुभयो । “सुपिङमा चिसो मौसम भइरहने हुँदा हेटौंडामा गर्मीयाम सुरु हुँदा त्यहाँ च्याउ फलाउन सुरु गर्नेगरेको छु । सुपिङमा ५ रोपनी जग्गामा च्याउ खेती गरेको हुँ । हेटौंडामा गर्मी सुरु भएपछि च्याउ फल्दैन । फेरि जाडो मौसम सुरु भएपछि यहाँ च्याउ फलाउने सुरमा लाग्नुपर्छ” उहाँले भन्नुभयो ।

यसरी दुईतिर गरेर उहाँले वार्षिक ६० लाख आम्दानी हात पार्ने गर्नुभएको हो । यो सँगै उहाँले दुई यूवालाई रोजगारी दिनुभएको छ । उहाँका अनुसार पछिल्लो वर्षभन्दा यस वर्षको खेती सन्तोषजनक हुन सकेन । यस वर्ष च्याउमा रोग लाग्नाले खेती बिग्रिएको छ । लामाका अनुसार च्याउ टिपेको तीन दिनसम्म मात्र खानयोग्य हुन्छ । त्यसपछि त्यसको भिटामिन नष्ट हुनेगर्छ ।

अहिले च्याउको बजारभाउ प्रतिकेजी एकसय ५० रहेको छ । एक वर्षमा चार सिजनसम्म च्याउ उत्पादन गर्न सकिन्छ । उहाँका अनुसार सबै खर्च कटौती गरी एक सिजनमा पाँच लाखसम्म बचत गर्न सकिन्छ ।

पन्ध्र वर्ष विदेशमा काम गरेका लामालाई थोरै मिहेनत, कम लगानी र सन्तोषजनक आम्दानी च्याउ खेतीले दिएको हो ।

च्याउ खेतीलाई प्रोत्साहन

अन्य विकल्पपछि च्याउ खेती रोज्नुभएका रामकुमार लामालाई आफ्नो मिहिनेतमा सरकारको आँखा नपरेको देख्दा दुःख पनि उत्तिकै लागेको छ । सरकारले अन्य कृषकलाई अनुदान दिइरहँदा च्याउ खेती गर्ने किसान भने यसबाट बञ्चित हुन परेको उहाँ बताउनुहुन्छ ।

“स्थानीय सरकारसँग केही अनुदानको लागि प्रयास नगरेको त होइन, पटक–पटक धाउँदा पनि नगरपालिकाले चासो देखाएन । च्याउ खेतीका लागि आवश्यक बीउपूँजी, च्याउ रोगको औषधी र रोग निवारणका लागि चासो राख्ने निकाय हाम्रो माग हो । अझ अहिलेको सन्दर्भमा च्याउको बजारभाउ सरकारले निर्धारण गर्ने हो भने धेरै राहत हुनेथियो” उहाँले भन्नुभयो ।

सरकारले यूवा पलायनलाई रोक्न कृषिमा निर्धारित आवश्यक तालिम, कृषि प्रोत्साहन कार्यक्रम र लगानीको माध्यम सिर्जना गरिदिने हो भने यूवावर्ग देशमै सीप खर्चेर बस्ने वातावरण सिर्जना हुने उहाँ बताउनुहुन्छ । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us