म त मूर्ख रहेछु !

कसरी छल्न सकिन्छ जाबो एउटा हत्केलाको
सहायताले ब्रह्माण्डको विशाल तारा सूर्य
हरेक रात एकैचोटी कसरी हेर्न सम्भव हुन्छ
घाम र जूनको आगमन ?
म यही खोजिरहेछु बर्षौँदेखि।
एकदिन त चितामाथि राखिएको
लाससँग सोधेछु,
तिमीलाई अझै कति बाँच्ने रहर छ ?

रहरहरूले पनि अराजकताको सिमा पार गर्छन्,
कहिल्यै ताराहरू टिपेर माला लगाउँ सोच्छु,
देवतासँगै देवलोकको भ्रमण गरूँ लाग्छ कहिलेकाहीँ।

मलाई थाहा छ
सधैंका लागि छोडेर जानेहरू आउँदैनन्।
र सधैंका लागि छोडिएकाहरू मुस्कुराउँदैनन्,
र पनि हरेकपटक हजार चोटपटकले घाइते मुटु
लिएर स्वार्थको दुनियाँमा मुस्कुराउन चाहन्छु ।

आमाको अनुहारमा गुराँस फुलेको थियो,
बुवाको चेहरामा अडिएको थियो हिमाल,
जब पहिलोपटक मैले सेतो चकले कालोपाटीमा नेपाल लेखेथेँ।
बुवाको भनाइ अनुसार
मेरो अहिलेको उमेर त देश बनाउने उमेर हो रे,
तर मैले भने नेपाल लेख्न पनि बिर्सिसकेको रहेछु।
म त कहाँबाट कहाँसम्म आइपुगिसकेछु।
कोही भनिदेऊ मलाई नेपाल तेरो देश हो भनर ।

पानीमा डुबेको मान्छे बाहिर निकाल्ने बित्तिकै
किन पानी पानी भनेर कराउँछ ?
आखिर पानीमा डुब्दैमा पनि त प्यास नमेटिने रहेछ नि।
म त यस्ता हजारौं अनुत्तरित प्रश्नहरूको उत्तर खोजी गर्दागर्दै
आफू नै हराईसकेको रहेछु आफूबाट
कोही पुर्‍याइदेऊ मलाई मेरो ठेगानामा,
मैले त बिर्सिसकेँ आफ्नो ठेगाना।

आकाशको गहिराइ नाप्न खोज्ने
समुद्रको उचाइ नाप्न खोज्ने
हिउँको तातोपन र
आगोको शीतलता मापन गर्न खोज्ने म को हुँ ?
कोही भन्देऊ मलाई आकाशको गहिराई,
समुद्रको उचाइ , हिउँको तातोपन हुँदैन भनेर ।

सगरमाथाको सफल आरोहण गर्नेहरूले
भुले जस्तो नाम्चेबजार,
कुनै देशभक्त सिपाहीले बिर्से जस्तो देशको नाम,
पिडैपिडाले पिल्सिएको कुनै व्यक्तिले बिर्सेजस्तो
आँसु बगाउन
मैले त मेरा बा आमा र देश पनि भुलिसकेछु,
अहो! म त मूर्ख रहेछु।

लक्ष्मण सङ्गम ,अछाम
हाल: काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us