ट्रम्पले केन्द्रीय बैंकका अध्यक्षलाई ब्याजदर तुरुन्तै घटाउन दबाब दिँदा बिश्व बजारमा तरङ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको भाउ एकैचोटी ६ हजार ९ सय रुपियाँले वृद्धि भई १ लाख ९७ हजार रुपियाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि वृद्धि भएको छ । यो क्रम अझै केही दिन लम्बिन सक्ने संकेत देखिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व बजार सुनको भाउ बढ्ने र डलरको भाउ घट्ने संकेत देखिएको हो । ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलमाथि सार्वजनिक रूपमा दबाब दिँदै ब्याजदर तुरुन्तै घटाउन आग्रह गरेपछि विश्व बजारमा व्यापक तरंग उत्पन्न भएको छ । यस्तो राजनीतिक हस्तक्षेपले लगानीकर्ता तथा अन्तर्राष्ट्रिय वित्तीय बजारबीच गहिरो चिन्ता जन्माएको छ । साथै अमेरिकी शेयर बजारमा गिरावट आयो, डलर कमजोर भयो, र लगानीकर्ताहरूले सुरक्षित लगानीको विकल्पको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य आकशिएको छ ।

ट्रम्पले पावेलमाथि ‘आर्थिक विकासमा अवरोध सिर्जना गर्ने’ आरोप लगाउँदै फेडको नीतिलाई ‘अत्यन्त भ्रमपूर्ण र निष्क्रिय’ भनेका छन्। अमेरिकी समाचार संस्थाहरूका अनुसार ट्रम्पले फेड अध्यक्ष पावेलको निर्णय क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् । उनको यस्तो धारणा अमेरिकी मौद्रिक नीतिको स्वतन्त्रतालाई नै चुनौती दिन खोजिएको संकेत हो । यस घटनाक्रमपछि अमेरिकी डलरको दर घट्यो, शेयर बजारमा गिरावट आयो र बन्ड बजारमा नकारात्मक प्रतिक्रिया देखा परेको छ । यसै सन्दर्भमा लगानीकर्ताहरू सुरक्षित वैकल्पिक लगानी खोज्दै सुनतर्फ आकर्षित हुन थाले, जसको परिणामस्वरूप सुनको भाउ प्रति औंस ३ हजार ५०० अमेरिकी डलर नाघेर ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।

ट्रम्पको फेडमाथिको दबाबले युरोपेली तथा एसियाली बजारहरूमा पनि असर पारेको छ । साथै युरोपेली सेयर सूचकांकहरू घटेका छन् भने बेलायती पाउन्ड सात महिनाको उच्च विन्दुमा पुगेको छ। यसले अमेरिकी मौद्रिक नीतिमा विश्वको निर्भरता र राजनीतिक अस्थिरताले त्यसमा पार्ने असरलाई झल्काउँछ ।
यस घटनाले संसारको प्रमुख आर्थिक शक्तिमा समेत राजनीतिक हस्तक्षेपले आर्थिक नीतिमा अस्थिरता निम्त्याउँछ, जसको असर अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान अस्थिर भएपछि सुरक्षित लगानीका लागि सुनजस्ता परम्परागत विकल्पले अझ आकर्षक गर्छ ।

सुनलाई प्रायः ‘सुरक्षित लगानी’ को रूपमा लिइन्छ। जब मौद्रिक नीतिमा अनिश्चितता आउँछ, ब्याजदर घट्ने सम्भावना हुन्छ, वा मुद्रास्फीति बढ्ने डर हुन्छ, त्यति बेला सुनको मूल्य बढ्ने गर्दछ। अहिले फेडमाथिको राजनीतिक हस्तक्षेपले लगानीकर्तामा भय सिर्जना गरिरहेको छ, जसले गर्दा सुनप्रति आकर्षण बढेको हो ।

विश्लेषकहरूका अनुसार यदि फेडमाथिको राजनीतिक हस्तक्षेप झनै तीव्र भयो वा अमेरिकी डलर थप कमजोर भयो भने सुनको मूल्य अझै उकालो लाग्न सक्छ । साथै, यदि अमेरिका वा चीनबीचको व्यापार तनाव पुनः चुलियो भने पनि सुनको माग अझै बढ्नेछ । यद्यपि, मूल्य यति चुलिएको अवस्थामा अचानक सुधार आउने सम्भावना पनि नकार्न सकिँदैन ।

नेपालमा सुन आयात प्रायः विदेशी मुद्राको परिमाण र अन्तर्राष्ट्रिय मूल्यमाथि निर्भर गर्छ । मूल्य अत्यधिक चुलिएपछि नेपालमा सुन खरिद घट्ने, कालोबजारी बढ्ने तथा बजारमा अस्थिरता आउने सम्भावना बढ्छ । तर, दीर्घकालीन लगानीको दृष्टिकोणले हेर्दा, सुनमा सीमित मात्रामा लगानी गर्नु उपयुक्त रहन सक्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us