वैज्ञानिक समाजवाद र दक्षिणपन्थी यथास्थितिवाद

झलनाथ खनाल

यो बहुदलीय समाजवाद अन्तिम विश्लेषणमा पुँजीवादी बहुदलीय व्यवस्था नै हो । वर्गीय हिसाबले त्यसमा केही भिन्नता छैन । त्यसले बहुदलीय पुँजीवादी व्यवस्थाको सिमाना तोडेर त्यो अघि जान सक्दैन । त्यसले पुँजीवादी संसदीय भासतिर मात्र लान्छ ।


यतिबेला नेपाली समाज २०६२–०६३ सालको पुँजीवादी जनवादी क्रान्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रअन्र्तगतको पुँजीवादी समाजमा रूपान्तरित भएको छ । देशमा पुँजीवादी उत्पादन पद्धति स्थापना भएको छ । हाम्रो देशमा व्यापारिक पुँजीवाद, औद्योगिक पुँजीवाद र वित्तिय पुँजीवादको विकास एउटा हदसम्म नभएको होइन । तर, नेपालमा सुरुदेखि नै स्वतन्त्र औद्योगिक पुँजीवादको विकास हुन सकेन । नेपालमा पुँजीवादको विकासको नेतृत्व सुरुदेखि नै दलाल पुँजीवादले गर्न पुग्यो । जनवादी क्रान्तिको कालभरि त्यो दलाल पुँजीवादले परम्परागत सामन्तवादसँग साँठगाँठ गरेर नेपाली जनताको क्रान्तिकारी अग्रगति र प्रगतिका विरुद्ध निरन्तर अवरोध पुर्याउने काम गरिरह्यो । २०६२–०६३ सालको क्रान्तिपछि भने त्यो नै नेपाली क्रान्तिको मुख्य वर्गीय निशाना बन्न पुगेको छ । सामन्तवादलाई ऐतिहासिक रूपले नै समाप्त पारियो ।

वस्तुगत रूपले भन्नुपर्दा हाम्रो देशमा जुन विन्दुमा आएर पुँजीवादी–जनवादी क्रान्ति टुंगियो, ठिक त्यहि विन्दुमा आएर मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा उठेको छ । तर, पुँजीवादी–जनवादी क्रान्तिका उपलव्धिहरूलाई संस्थागत गर्ने कामले हाम्रो देशमा अपेक्षाकृत रूपले लामो समय लियो । करिब १० वर्ष लगाएर हामीले संविधान बनायौँ । संविधान बनाउनु भनेको नै जनवादी क्रान्तिका उपलव्धिहरूलाई संस्थागत गर्ने काम हो । त्यसपछि नेपाली श्रमिक वर्गको पार्टी– नेपाल कम्युनिष्ट पार्टीले नयाँस्तरबाट क्रान्तिलाई जारी राख्दै समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढ्नुपर्ने थियो । त्यसका लागि हाम्रासामु सबैभन्दा महत्वपूर्ण कुरा थियो– नयाँ परिस्थितिको ठोस विश्लेषण गर्ने र समाजवादी कार्यक्रम अघि सार्ने ।

ठिक यहि विन्दुमा पुग्दा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व अल्मलिन पुग्यो । त्यो क्रमशः सुधारवादको बाटो लिँदै दक्षिणपन्थी यथास्थितिवादतिर भड्किन थाल्यो ।

प्रथमतः संविधान जारी भएपछि भएको प्रथम निर्वाचनमा नेपाली जनताले आफ्नो आमूल परिर्वतनको इच्छा र आवश्यकता बमोजिम वामपन्थी शक्तिलाई व्यापक रूपले विजयी गराए । संघीय संसद्मा दुईतिहाइ बहुमत नै दिलाए । तर त्यसपछि बनेको वामपन्थी सरकारले मुलुकमा समाजवादका आधारहरू तयार पार्ने र देशलाई दलाल पुँजीवादको चंगुलतिर जानबाट बचाउने काम गर्नुपर्दथ्यो । त्यहिअनुरूप देशलाई समाजवादको बाटोतिर अघि बढाउने नीति र कार्यदिशा लिनुपर्दथ्यो । तर, त्यो सरकारले ४ वटा नीति, कार्यक्रम र बजेट ल्यायो तर मुलुकलाई समाजवादको दिशातिर अघि बढाउने कुनै पनि उल्लेख्य आधार तयार पार्ने काम गरेन । त्यसले मुलुकलाई दक्षिणपन्थी यथास्थितिवादतिर नै लग्यो ।

दोस्रो, त्यसरी २ वटा वामपन्थी दलहरू चुनावमा एकतावद्ध हुनुका साथसाथै पार्टीलाई नै पनि एकीकृत पार्न पुगे । सही अन्तर्यका साथ गरेको भए यो ठुलो अग्रगति मान्नुपर्ने हुन्थ्यो । तर, सही वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा गरेको एकता नभएकाले त्यो एकता धेरै दिन टिक्न पनि सकेन । त्यो एकता भएपछि तत्कालीन नेकपाले प्रष्ट रूपले समाजवादी कार्यक्रम अघि सार्नुपर्ने थियो । त्यसका लागि नयाँ कार्यक्रम मस्यौदा गर्न एउटा कार्यदल पनि बनाइयो । माधवकुमार नेपालको संयोजकत्वमा बनेको त्यो कार्यदलले समाजवादी कार्यक्रम अघि सार्ला भन्ने ठुलो आशा र अपेक्षा थियो । तर त्यो कार्यदलले त्यस्तो कार्यक्रम अघि सार्नुको सट्टा ‘जनताको जनवादी कार्यक्रम’ पो अघि सार्न पुग्यो । त्यसरी हामीले समाजवादी कार्यक्रम र लक्ष्यलाई अंगीकार गर्न सकेनौँ । नेकपाजस्तो एउटा विशाल पार्टीको नेतृत्व नै ‘जनताको जनवाद’को नाउँमा दक्षिणपन्थी यथास्थितिवादतिर भड्किन पुग्यो । मुलुकको क्रान्ति कुन चरणमा पुग्यो त्यसले कुनै मतलब राखेन ।

तेस्रो, २ वटा कम्युनिस्ट समूह मिलेर नेकपा बन्नु एउटा ठूलै प्रगति थियो । त्यसैले धैरै कम्युनिस्टहरूले त्यसलाई समर्थन पनि गरे । त्यो पार्टीलाई संरक्षण गर्ने, विकास गर्ने र रूपान्तरण गर्ने बाटोतिर लागेको भए सायद त्यो सिंगो पार्टीले समाजवादतिर जाने आवश्यकतालाई बोध गर्न सक्थ्यो होला । तर, आफ्नै पार्टीको दुईतिहाइ बहुमतलाई ध्वस्त पारेर पार्टी नेतृत्व बुर्जुवा संसद्वादका थोत्रा भइसकेका परम्पराको प्रतिगामी मार्गतिर लाग्न पुग्यो । त्यो मार्ग समाजवादविरोधी थियो । कम्युनिस्ट आन्दोलनको एकता र समृद्धिको मार्गविरुद्ध थियो र त्यो आफ्नै पार्टीका समाजवाद पक्षधर कमरेडहरूको भावना र चाहनाका विरुद्ध पनि थियो । किनभने पार्टीभित्र समाजवादका पक्षमा उभिएर अघि बढ्नुपर्छ भन्ने नेता, कार्यकर्ताको विशाल पंक्ति थियो । उनीहरू प्रतिगमनकाविरुद्ध सक्रिय संघर्षमा पनि लागेका थिए । तर, आखिर अदालतको प्रयोग गरेर त्यो एकीकृत पार्टीलाई एकीकृत भएको करिब ३ वर्षपछि विभाजित गराइयो र पुनः पहिलेकै एमाले र माओवादी २ अलग पार्टीमा टुक्राइयो । यो देशी–विदेशी प्रतिकृयावादीहरूको षड्यन्त्रको परिणामसमेत थियो । त्यो षड्यन्त्रबाट एकीकृत पार्टीलाई जोगाउन आग्रह गर्दा पनि नेतृत्व तयार भएन । बरु विभाजनलाई स्वागत गर्न पुग्यो । यो अर्को दक्षिणपन्थी भड्काउ थियो । त्यसले कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी यथास्थितिवादतिर जान वाध्य गरायो ।

चौथो, त्यति मात्र होइन अदालतले विभाजित गरेपछि एमाले नेतृत्वले समाजवादी दिशा लिन्छ कि भन्ने आशाका विपरीत पार्टी एकता गर्दा मुल्तबीमा राखिएको ‘जबज’लाई झिकेर फेरि पार्टीको ‘कार्यक्रम’ ‘मार्गदर्शक सिद्धान्त’ बनाउन पुग्यो । नेपाली जनता र क्रान्तिकारीहरूको आवश्यकता थियो समाजवादी क्रान्ति र रूपान्तरणको समाजवादी कार्यक्रम । अब जबज ऐतिहासिक रूपले र समग्ररूपले नै कालातितसमेत भइसकेको थियो । तर, नेतृत्व क्रान्तिको पार भइसकेको हिजोको चरणमा फर्केर जबजलाई नै ‘मार्गदर्शक सिद्धान्त’ र ‘पार्टी कार्यक्रम’ बनाउन पुग्यो । यो कार्यक्रमिक सवालमा अर्को दक्षिणपन्थी भड्काउ हो । त्यसले कम्युनिस्ट आन्दोलनलाई अग्रगमनतिर जानबाट झन् नराम्ररी रोक्यो र दक्षिणपन्थी यथास्थितिवादमा चक्कर लगाइरहने बनाइदियो ।

पाँचौँ, त्यसपछि एउटा अर्को विन्दुमा पुगेर नेकपा (एमाले) नेतृत्वमा हावी हुँदै गएको उपरोक्त दक्षिणपन्थी भड्काउका विरुद्ध विद्रोह गरेर हाम्रो पार्टीको स्थापना भयो । हामीले दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्यौँ । तर, त्यो अवसरवादलाई परिभाषित गर्न, त्यसका ठोस अभिव्यक्तिहरूलाई खुट्याउन र तिनीहरूको समयदेखि नै खन्डन गर्न यथोचित रूपले हाम्रो पार्टीले पनि सकेन । यो पार्टी नेतृत्वको अहंदायित्व थियो । हामीले पनि समाजवादी क्रान्तिका कुरा गर्यौँ तर समयमै समाजवादी कार्यक्रम अघि सार्न सकैनाँै । त्यसले हामीलाई समेत वैचारिक रूपले विभाजित बनाइरह्यो र दक्षिणपन्थी यथास्थितिमा हिँड्न बाध्य पारिरह्यो । यसरी हाम्रो पार्टी पनि सैद्धान्तिक रूपले एउटा अवधिसम्म दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त हुन सकेन ।

छैटौँ, हाम्रो पार्टी बनेपछि पार्टीभित्र राष्ट्रिय सम्मेलन वा महाअधिवेशन चाँडो गरेर पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई तथा समाजवादी कार्यक्रमलाई अघि सार्ने प्रयत्न गरियो । तर, पार्टीभित्रै विभिन्न सवालमा र खासगरी पार्टीको कार्यक्रमकै बारेमा बहसहरू छेडिन थाले । समाजवादी क्रान्ति र समाजवादी कार्यक्रमको आवश्यकताका बारेमा चर्चा गर्दा ‘होइन जबजको औचित्य र आवश्यकताको अन्त्य भएकै छैन, त्यो लागू भइसकेको छैन, समाजवादमा पनि जबज चाहिन्छ’ भन्ने तर्कहरू आए । जबज र वैज्ञानिक समाजवादबीचको भिन्नतालाई देख्न नसक्ने समस्या रह्यो । त्यसले कार्यकर्ता पंक्तिमा भ्रम पैदा भयो र मनस्थिति विभाजित हुनपुग्यो । त्यसले गर्दा लामो समय हामीले समाजवादी कार्यक्रम अघि सार्न सकेनौँ । यसले पनि हाम्रो पार्टीलाई दक्षिणपन्थी यथास्थितिवादकै बाटोमा हिँड्न बाध्य पारिरह्यो ।

सातौँ, त्यति मात्र होइन जब समाजवादी कार्यक्रम अघि सार्ने कुरा आयो, तब ‘बहुदलीय समाजवादी कार्यक्रम’को अर्को अवधारणा अघि आयो । यो अवधारणा अहिले पनि हाम्रो पार्टीभित्र कतै न कतै सुसुप्त रूपमा छ । यो अवधारणा वैज्ञानिक समाजवादबाट दक्षिणपन्थतिर विचलित अवधारणा हो । यसलाई आजको नेपालमा प्रकट भएको ‘प्रजातान्त्रिक समाजवाद’को संस्करण मान्नुपर्छ । अब हामीले वैज्ञानिक समाजवाद वा प्रजातान्त्रिक समाजवादबीचको भिन्नताको रेखा कोर्न अर्को सैद्धान्तिक लडाइँ लड्नैपर्ने भएको छ । यो बहुदलीय समाजवाद अन्तिम विश्लेषणमा पुँजीवादी बहुदलीय व्यवस्था नै हो । वर्गीय हिसाबले त्यसमा केही भिन्नता छैन । त्यसले बहुदलीय पुँजीवादी व्यवस्थाको सिमाना तोडेर त्यो अघि जान सक्दैन । त्यसले पुँजीवादी संसदीय भासतिर मात्र लान्छ । यो आफैँमा दक्षिणपन्थी यथास्थितिवाद हो । हामीले त्यो यथास्थितिवादबाट पनि मुक्त हुन जरुरी थियो ।

आठौँ, हाम्रो पार्टीभित्रै अझै पनि ‘पुँजीवादमा विकास गरेको बहुदलीय राजनीतिक प्रणाली समाजवादमा पनि हुनैपर्छ । बहुदलीय राजनीतिक प्रणालीबिनाको समाजवाद कल्पना नै गर्न सकिन्न’ भन्ने सोच पनि रहेको छ । यसले के कुरा प्रष्ट पार्छ भने समाज विकासको हरेक चरणमा त्यसबेलाको उत्पादन सम्बन्धले नै त्यो विशिष्ठ समाजको अधिसंरचना निर्माण गर्नेगर्छ भन्ने माक्र्सवादी सत्यलाई अझै कतिपय कमरेडहरूले बुझेका छैनन् । एमालेको नेतृत्वमा त ठुलो भ्रम र दिशाहीनता छँदै छ । त्यसले एमालेलाई बहुदलीय संसदीय गोलचक्करमा फन्फनी घुमाइरहेकै छ । त्यहि कुराले एमाले नेतृत्वलाई दलाल पुँजीवादीसँग साँठगाँठ गर्ने अवस्थामा पुर्याएको हो । त्यो गोल चक्करको खतरा हामभित्र पनि छ । यर्थाथमा वहुदलीय प्रणाली भनेको विश्वभरि नै त्यहाँको पुँजीवादी उत्पादन सम्बन्धको अनिर्वाय परिणाम हो र त्यो त पुँजीवादी प्रणालीको अधिसंरचना हो भन्ने कुरा हरमाक्र्सवादीले बुझ्नुपर्छ । तर समाजवादी उत्पादन सम्बन्धले त वर्गहरूको उत्पति गर्ने र वर्गीय अन्तरबिरोधहरू जन्माउने आधारलाई समाप्त पार्दै वर्गीय प्रतिस्पर्धा जन्माउने, वर्गहरूका आधारमा दलहरू जन्माउने र दलीय प्रतिस्पर्धा जन्माउने वस्तुगत आधारलाई नै समाप्त पार्छ । समाजवादको स्थापनाले मानव समाज पहिलोपटक यस्तो ऐतिहासिक मोडतिर वा उचाइतिर अघि बढ्छ, जहाँ बहुदलीय प्रतिस्पर्धाको लोकतन्त्रलाई नै इतिहासको वस्तु बनाइदिन्छ ।

समाजवादी उत्पादन सम्बन्धले कहिँ पनि बहुदलीय प्रतिस्पर्धालाई जन्माउँदैन । बरु त्यसलाई उन्मूलन गर्छ । समाजवादी उत्पादन सम्बन्धले जन्माउने अधिसंरचना भनेको समाजवादी लोकतन्त्र हो । त्यो श्रमिक वर्गको नेतृत्वमा सम्पूर्ण जनताको लोकतन्त्र हो । त्यो लोकतन्त्रको सर्वोच्च रूप हो । हामीले त्यो समाजवादी लोकतन्त्रको नेपाली ठोस रूप विकास गर्नै बाँकी छ । हामीले त्यसका लागि पेरिस कम्युन, सोभियत संघ, पूर्वी युरोपका समाजवादी मुलुकहरू, आजको समाजवाद चीन, भियतनाम, लाओस, उत्तर कोरिया र क्युवाका समाजवादी लोकतन्त्रका नमुनाहरूको गहिरो अध्ययन गर्नुपर्छ । तिनीहरू हाम्रा व्यापक सन्र्दभ सामग्री हुन् । तर, यी कुराहरूको गम्भीर अध्ययन, विश्लेषण र संश्लेषणविना पुँजीवादी उत्पादन सम्बन्धले विश्वमा सृजना गरेको बहुदलीय राजनीतिक प्रणाली नै नेपालको समाजवादको पनि राजनीतिक प्रणाली हुन्छ भन्ने सैद्धान्तिक मान्यता कसैले राख्छ भने त्यो पनि दक्षिणपन्थी यथास्थितिवादकै नमुना हुन्छ । हामीले यस्ता चिन्तनहरूसँग पनि अन्तरसंघर्ष गर्दै आएका छौँ र गर्नुपर्छ ।

नवौँ, अझ कतिपय आशा गरिएका साथीहरूमा समेत समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्ने कुरामा पनि यथास्थितिवादी चिन्तनले घर गरेको पाइन्छ । उहाँहरू के भन्नुहुन्छ भने ‘समाजवाद त धेरै टाढाको वस्तु हो, त्यसका बारेमा केही सामान्य कुरा अघि सारेर अहिले तत्काल गर्न सकिने सुधारका बहुआयामिक प्याकेज अघि सारौँ, त्यो प्याकेज नै ठोस कार्यक्रम हुन्छ । त्यो नै आजको समाजवादी कार्यक्रमको ठोस रूप हुन्छ ।’ यो दक्षिणपन्थी यथास्थितिवादको अर्को गजबको नमुना हो । किनभने कुनै पनि बेला एउटा कम्युनिस्ट पार्टीले अघि सार्ने सामाजिक क्रान्तिको कार्यक्रम भनेको जहिले पनि सम्बन्धित समाजलाई बदल्ने आमूल परिर्वतनको क्रान्तिकारी कार्यक्रम हुन्छ । त्योभन्दा दायाँ गए दक्षिणपन्थ हुन्छ र बायाँ गए उग्रवामपन्थ हुन्छ । हामी यतिबेला समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्दै छौँ । त्यो आमूल परिवर्तनको कार्यक्रम हो । त्यो वर्तमान पुँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गरेर समाजवादी सामाजिक–आर्थिक ढाँचा स्थापना गर्ने कार्यक्रम हो । यो आजको दलाल पुँजीवादी अधिनायकवादलाई अन्त्य गरेर श्रमिक वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व स्थापना गर्ने कार्यक्रम हो । यो कार्यक्रमले तत्कालीन सुधारका प्याकेजहरूलाई पार्टीका तत्कालीन कार्यभार मात्र ठान्छ । तिनीहरू तत्कालीन सुधारका कुरा मात्र हुन् । तत्कालीन पार्टीका सुधारका प्याकेजलाई नै पार्टी र क्रान्तिको ठोस कार्यक्रम बनाइयो भने त्यो दक्षिणपन्थी यथास्थितिवाद हुन्छ । त्यसले हामीलाई समाजवादतिर लादैन । त्यसले त वर्तमान पुँजीवादी व्यवस्थालाई नै सिंगारपटार गर्ने र यथास्थितिवादको पुँजीवादी गोल चक्करमा रहिरहने दक्षिणपन्थी बाटोतिर लान्छ ।

१०औँ, अझ अघि बढेर यस्तो समाजवादी क्रान्तिकारी कार्यक्रम प्राप्त गर्ने कार्यनीतिक कार्यदिशाको सवालमा पनि दक्षिणपन्थी यथास्थितिवाद विभिन्न रूपमा प्रकट हुने गरेको छ । किनभने समाजवाद आजको क्रान्तिको लक्ष्य हो । त्यो लक्ष्य प्राप्त गर्न सिंगो प्रक्रियाका प्रधान अन्तरविरोध र प्रधान निशाना छुट्याउन सक्नैपर्छ । त्यो छुट्याउन सकिएन भने समाजवादी क्रान्तिकारी आन्दोलन ‘कुहिराको काग’जस्तै बन्न पुग्छ । तर दक्षिणपन्थी यथास्थितिवादी चिन्तनले के भन्छ भने ‘हिजो २०४६ सालमा पनि हामीले नेपाली कांग्रेससँग कार्यगत एकता कायम गर्यौँ, १९ माघको घटनापछि पनि कांग्रेससँग नै कार्यगत एकता गर्यौँ, अब पनि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर नै अघि बढ्नुपर्छ ।’ यो चिन्तनले के कुरा बुझेन भने चाहे जनवादी क्रान्तिमा होस् चाहे समाजवादी क्रान्तिमा होस्, त्यस बेलाको प्रधान राजनीतिक अन्तरविरोध र क्रान्तिको प्रमुख प्रतिद्वन्द्वी शक्तिलाई ठोस रूपले पत्ता लगाउनुपर्छ । त्यो मुख्य प्रतिद्वन्द्वी शक्तिका विरुद्ध वर्गीय आधारमा अन्य सबै शक्तिलाई गोलबन्द गर्दै अघि बढ्नु पर्छ, तब मात्र वर्गसंघर्षले दिशा समात्न सक्छ र क्रान्तिले अग्रगति लिन्छ । तर प्रमुख प्रतिद्वन्द्वी शक्तिसँग नै कार्यगत एकता वा राजनीतिक समीकरण वा राजनीतिक गठबन्धन गरेर अघि बढ्न खोजे वर्ग संघर्षको विकास हँुदैन र क्रान्ति अघि जाँदैन । त्यसले फेरि पनि सामान्य सुधारको बाटो हुँदै यथास्थितिवादको गोलचक्करतिर नै फसाउन पुग्छ । वास्तवमा हिजो नेपाली कांग्रेससँग गठबन्धन गरेर सत्तामा जाने कुराले हामीलाई ठीक यहि परिणाम दिएको छ । त्यो कुरालाई अझै पनि नबुझेर, नेपाली कांग्रेससँग नै अब पनि कार्यगत एकता गर्नुपर्छ भन्ने कुराले हामीलाई कार्यनीतिक कार्यदिशाको हिसाबले पनि दक्षिणपन्थी यथास्थितिवादतिर नै लैजान्छ ।

एमालेको नेतृत्व घुम्दैफिर्दै नेपाली कांग्रेससँग साँठगाँठ गरेर ‘दुईतिहाइको सरकार’ बनाउन पुगेको छ । यो एमालेको दक्षिणपन्थी भड्काउ दक्षिणपन्थी यथास्थितिवादमा पतन हुनुको अभिव्यक्ति हो । एमालेका धेरै नेता र कार्यकर्ताहरू अहिले पनि समाजवादी क्रान्ति, समाजवादी कार्यक्रम र समाजवादी कार्यदिशाका पक्षमा छन् । उनीहरू वर्तमान पुँजीवादी संसदीय लोकतन्त्रलाई अधिकतम रूपले र क्रान्तिकारी ढंगले उपयोग गर्दै समाजवादको बाटोमा अघि बढ्न चाहन्छन् । तर एमाले नेतृत्व ‘संविधान संशोधन’ गर्न चाहन्छ, ‘दुई पार्टी अधिनायकत्व’ स्थापना गर्न चाहन्छ, समानुपातिक निर्वाचन प्रणाली हटाउन चाहन्छ, राष्ट्रिय पार्टी बन्ने अहिलेको ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानलाई सकेसम्म १० प्रतिशत पुर्याउन चाहन्छ र दलाल पुँजीवादीसँग मिलेर देशका साना र उदीयमान क्रान्तिकारी पार्टीहरूलाई ‘उन्मूलन’ गर्न चाहन्छ । यिनै पश्चगामी उद्देश्य लिएर एमाले नेतृत्वको घोर दक्षिणपन्थी अवसरवाद अहिले दलाल पुँजीवादको प्रमुख प्रतिनिधि नेपाली कांग्रेससँग संयुक्त सरकारमा सत्तारूढ बन्न पुगेको छ । यो वर्तमान कम्युनिस्ट आन्दोलनमा प्रकट भएको घोर दक्षिणपन्थी यथास्थितिवादको नमुना र अभिव्यक्ति हो । त्यसले मुलुकलाई ‘समाजवादका आधार तयार पार्ने’ वा ‘समाजवादतिर जाने’ होइन बरु विश्वभरि नै राजनीतिक रूपले थोत्रो र थाङ्नो हुँदै गएको पुँजीवादी संसदीय व्यवस्थाको गोलचक्करमा नराम्ररी फसाउने र नेपालको समाजवादी क्रान्तिका सम्भावनाहरूलाई भुँमरीडमा हाल्ने मात्र काम गर्छ । यो स्वयं एमालेका आमकार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको चाहना र आकांक्षाविरुद्ध छ ।

यस्तो स्थिति भएको हुनाले हामीले हाम्रो पार्टीको १०आँै राष्ट्रिय महाअधिवेशनको मूल नारा नै ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ’ भन्ने बनाएका हौँ । यहि मूल चिन्तनबाट अघि बढेर हामीले महाअधिवेशनबाट समाजवादी कार्यक्रम पास गरेका छौँ । यो एउटा आमूल परिर्वतनको क्रान्तिकारी कार्यक्रम हो । यो कार्यक्रम सबै प्रकारका दक्षिणपन्थी भड्काउविरुद्ध छ र दक्षिणपन्थी अवसरवादका विरुद्ध छ । यसलाई अहिले नेपाली समाजको वर्गसंघर्षको धरातल जुन बिन्दुमा पुगेको छ, त्यहि बिन्दुबाट सुरु गर्दै अघि बढेर मात्र प्राप्त गर्न सकिन्छ । त्यसैले हामीले यथास्थितिवादका सबै खाले कार्यनीतिहरूको विरोध र भन्डाफोर गर्दै समाजवादी क्रान्तिकारी कार्यदिशाका आधारमा सम्पूर्ण कम्युनिस्टहरूलाई एकतावद्ध बनाउनु र समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक प्रवाहलाई दृढतापूर्वक अघि बढाउनु आजको ऐतिहासिक आवश्यकता बनेको छ । त्यसकारण हामीले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ अघि सारेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us