भूकम्पको १० वर्षपछि दोलखाको भिमेश्वर : पीडितका अधिकांश घरमा ताला, खाली हुँदै गाउँ

सुजन काफ्ले

चरीकोट। विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। ०७२ साल वैशाख १२ गते आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भुकम्प गएको थियो। उक्त भूकम्पमा परेर देशभर ठुलै मानवीय क्षति भएको थियो।

वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु गोरखा भए तापनि २९ गते गएको भुकम्पको केन्द्रविन्दु भने दोलखा थियो। वैशाख १२ गतेभन्दा २९ गतेको भूकम्पले दोलखामा बढी क्षति गरेको थियो।

भूकम्पपछि सरकारी अनुदानमा अधिकांश दुई कोठे नयाँ घर गाउँमा बने। तर जिल्लाभर बनेका यस्ता घरमा ताला लागेका छन्। कतिपय भूकम्प पीडितले सरकारी अनुदानमा थप रकम जम्मा गरेर पक्की ढलान गरेर घर निर्माण गरेका थिए। ती घरमा पनि अहिले ताला मात्र भेटिन्छ।

गाउँमा निर्माण गरिएका घरका फराकिलो आँगनमा अहिले बाख्लो झारले भरिएको छ। घरका पिँढी र कौसी भत्किन थालेका छन्। गाउँका घरधुरी घरमुली फर्केर आउँछन् कि भनेर कुरिरहेका जस्ता देखिन्छन्। तर दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै गएको छ।

गाउँमा ढुङ्गेघर अब हराउँदै गएका छन्, गाउँका मान्छे हराएझैँ। भूकम्पपछि ढुङ्गाले छाएका घर भत्काएर जस्तापाता र कङ्क्रिटका घर निर्माण गरिए पनि ती घरमा बस्ने मानिस भने गाउँबाट पातलिँदै जान थालेको तामाकोसी गाउँपालिका ४ मालुका वडाध्यक्ष नारायण खड्काले बताउनुभयो।

उहाँका अनुसार गाउँमा अनुदानमा बनेका अधिकांश घर खाली छन्। भूकम्प पीडित परिवारले अनुदानको घर निर्माण गरेर काठमाडौँ बस्दै आएका छन्। गाउँ गाउँमा पूर्वाधार लगायत विभिन्न क्षेत्रको विकास भएता पनि विभिन्न सुविधाको खोजीमा बसाइँ सरेर सहर पस्न थालेपछि गाउँ खाली भएको वडाध्यक्ष खड्काले बताउनुभयो। मानिस बिनाका घर मात्र भएपछि गाउँ नै बिरानो भएको उहाँको भनाइ छ। तामाकोसी गाउँपालिकामा मात्र हैन अहिले जिल्लाका विभिन्न गाउँका मानिस रोजगारीका सिलसिलामा, वैदेशिक रोजगार र नयाँ अवसरको खोजीमा जिल्ला बाहिर गएको भूकम्प लाभग्राहीले निर्माण गरेका अधिकांश घरमा ताला लागेको छ।

वैदेशिक रोजगारको कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइसराइ गर्ने प्रचलन छ। गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दै जानुको साथै संस्कृति र परम्परासमेत लोप हुने अवस्थामा पुगेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन्।

भिमेश्वर नगरपालिका-७ का वडा अध्यक्ष विनोद तामाङले गाउँमा तीब्र रूपमा बसाइसराइ बढ्दै गएको बताउनुभयो। आफ्नो वडामा मात्र नभई पुरै नगरपालिकाको अवस्था उस्तै रहेको तामाङले बताउनुभयो।

भूकम्पपछि ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँ गाउँमा पक्की घर बनाउने लहर चलेको थियो। कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उहाँको भनाइ रहेको छ।

भुकम्पपछि बनेका एकीकृत बस्तीका घर पनि खाली छन्। भीमेश्वर नगरपालिका–१ पानीपोखरीमा बनेको एकीकृत नमुना बस्ती, ५७ घर बने तर अहिले अधिकांश घरमा ताला लागेको छ। जिल्लाभर ७३ हजार चार सय २५ जना लाभग्राही छनोट भएका थिए। ६५ हजार दुई सय २२ जना लाभग्राहीले घर बनाएर भूकम्प पीडितलाई आवास अनुदानको तेस्रो किस्ता लिएको तथ्याङ्कमा छ। पहिलो र दोस्रो किस्ता लिएर घर अपुरै छाड्नेको सङ्ख्या आठ हजार छ। भूकम्पपछि आर्थिक उपार्जनका लागि रोजगारी गर्न अन्य जिल्ला र विदेश जानेको घरमा ताला लागेका छन्।

स्थानीय तहले गाउँमा टोलसम्मै सडकलगायत पूर्वाधारमा लगानी गरे पनि सदुपयोग गर्ने जनशक्ति भने बाहिरिने क्रम घटेको छैन। भूकम्पपछि जिल्लाभर अत्याधुनिक विद्यालयका भवन बने। तर, विद्यार्थी सङ्ख्या घट्दो रहेको तथ्याङ्कमा छ। रोजगारीका लागि विदेशिने युवाका परिवारसमेत बालबच्चाको अध्ययनका लागि सदरमुकाम र अन्य स्थानमा जाने गरेका छन्। यसले गाउँका सामुदायिक विद्यालयमा बालबालिकाको सङ्ख्या हरेक वर्ष घटेको स्थानीयले बताएका छन्। गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us