काठमाडौं । छिमेकी देश चीनसँगको तातोपानी नाका जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ। २०८१ सालको असोज १२ गते आएको भोटेकोशी बाढीले लार्चापुल बगाएको थियो।ह्युमपाइप बिच्छ्याएर गत कात्तिक अन्तिमबाट मालवाहक सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्। बर्खाअघि पुल तयार नभए अन्तर्राष्ट्रिय राजमार्ग बन्द हुने सरोकारवाला सबै पक्षमा चिन्ता रहेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।
बर्खाअघि नै लार्चामा बेलिब्रिज तयार गर्न सडक डिभिजन कार्यालय चरिकोटले सोवर्ण निर्माण सेवा र क्रियटिभ निर्माण कम्पनीको ज्वाइन्ट भेन्चरलाई कामको जिम्मेवारी दिएको छ। सोवर्ण निर्माण सेवाका प्रोप्राइटर अर्जुन थापाले दिएको जानकारीअनुसार अहिले बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइरहेको छ। ‘जेठ महिनाभित्र पुल तयार गरेर सडकलाई बुझाउँछौँ,’ थापाले भन्नुभयो।
जिल्लामा धेरैवटा पक्कीपुल र सडकको ठुला योजना समयमै सम्पन्न गरेर अनुभव प्राप्त सोवर्ण निर्माण कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गर्ने विश्वास सडक डिभिजन कार्यालय चरिकोटले लिएको छ। बेलिब्रिज निर्माणका लागि २० करोड १९ लाख बजेट विनियोजन गरिएको छ। यदि बर्खाअघि बेलिब्रिज तयार भएन भने भोटेकोशी नदीबाट मालवाहक कन्टेनर भन्सार यार्डमा आउन सक्दैनन्। स्थानीय, नेपाल–चीनका मानिस आवतजावत र द्विदेशीय सामान आयात–निर्यातका लागि कोदारी नाका बाह्रै महिना सञ्चालन हुनुपर्छ।
सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बाह्रबिसेदेखि तातोपानी लिपिङसम्मको २६ किलोमिटर सडक मर्मतसुधार गरेर कालोपत्रे गर्ने योजनाको ठेक्काउपर हाल मूल्यांकन भइरहेको बताउनुभो। दुई अर्ब ३७ करोडको ठेक्कामा ६ निर्माण कम्पनीले सम्झौताका लागि निवेदन दिएको र तीउपर मूल्यांकन जारी रहेको उहाँले बताउनुभयो। ‘ढिलामा असारसम्म सम्झौता भएर दसैँ आसपासबाट काम सुरु हुन्छ,’ उहाँले भन्नुभयो। आपतकालीन सडकको मर्मतसम्भार हाल पनि जारी रहेको उहाँले जानकारी दिनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशअनुसार अन्तर्राष्ट्रिय राजमार्ग नियमित बनाउन सडक डिभिजन कार्यालय चरिकोट लागिरहेको महर्जनले प्रस्ट्याउनुभयो। सडक नियमित भएन भने वार्षिक लक्ष्यअनुसार दैनिक आठ करोड राजस्व संकलन गर्ने तातोपानी भन्सारलाई ठुलो नोक्सान पुग्छ। तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले भन्सार यार्डमा सयौँ विद्युतीय सवारीसाधनले जाँचपास गरिरहेको, वैशाखदेखि असारसम्म दसैँलक्षित सामान आउने र बर्खाभर जाडो महिनाका सामान आउने भएकाले यही वेला राजस्व संकलनको दृष्टिले महत्त्वपूर्ण समय हुने बताउनुभयो। खासा हुँदै चिनियाँ कन्टेनरले ल्याउने सामानको चाप बर्खामा झन् बढी हुने भएकाले सडक नियमित हुनुपर्ने उहाँको भनाइ छ।