काठमाडौं । आज भन्दा ४ वर्ष अगाडीसम्म नेपाल टायल्समा भारतसँग पूर्ण रुपमा निर्भर थियो । नेपालमा आयात हुने वार्षिक १२ अर्बको टायल्समध्ये भारतबाट मात्रै ९५ प्रतिशत हिस्सा आउँथ्यो ।
तर, अहिले अवस्था फेरिएको छ, नेपाल टायल्समा आत्मनिर्भर बनेको छ । यद्यपी, अझै पनि कुल मागको ३० प्रतिशत हाराहारी टायल्स भारतबाट आयात भइरहेको छ ।
लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालका अनुसार पछिल्लो ३ वर्षयता ६ वटा टायल्स उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगहरुले नेपाली बजारको माग भन्दा बढी टायल्स उत्पादन गर्ने क्षमता राख्ने उनको भनाइ छ । सँगसँगै, भारतमा जुन गुणस्तरको टायल्स उत्पादन हुन्छ, नेपालमा पनि सोही गुणस्तरको टायल्स उत्पादन हुने धितालको दाबी छ ।
‘आयात मात्रै घटेको छैन, विश्वस्तरीय गुणस्तर कायम गरेर हामीले टायल उत्पादन गरिरहेका छौँ’ धिताल भन्छन्, ‘अब टायलको नेपाल गुणस्तर पनि बन्दैछ, यसपछि अहिले भइरहेको आयात पनि क्रमश: घट्दै जाने विश्वास लिएका छौँ ।’
रोजगारीमा उल्लेख्य योगदान
भारतीय बजारमा एक नम्बर ब्राण्ड मानिने कजरिया टायल्सको उत्पादन अहिले नेपालमै हुन्छ । कजरिया रमेश टायल्स लिमिटेडले कजरियाको उत्पादन नेपालमै सुरु गरेको हो । यसका सञ्चालक हिमान्सु अग्रवालका अनुसार एउटा टायल उद्योगले ३ सय बढी रोजगारी सिर्जना गर्छ । यस आधारमा ६ वटा उद्योगले २ हजार हाराहारीलाई रोजगारी दिएको छ ।
‘एउटा उद्योगमा थोरैमा पनि ३ सय कर्मचारी चाहिन्छ, हाम्रो उद्योगमा चाहिँ ४ सय जना जति काम गर्नुहुन्छ’, उनले भने, ‘टायल्स उद्योग नेपालमा नयाँ उद्योग भएकाले यसका लागि प्राविधिक जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । भारतीय र चिनियाँ प्राविधिक जनशक्ति छन्, उनीहरुबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले तालिम पनि पाइरहेका छन् ।’
उनले आगामी ३ वर्ष जतिमा टायल्स उद्योगका लागि प्राविधिक जनशक्ति पनि स्वदेशमै तयार हुने विश्वास व्यक्त गरेका छन् ।
मूल्य पनि सस्तो
कजरिया टायल्सले नेपालमै उत्पादन गर्न थालेपछि आयातको तुलनामा मूल्य पनि घटाएको छ । कजरिया रमेश टायल्सका निर्देशक अग्रवालका अनुसार विगतमा आयात गरेर बिक्री गर्दाको तुलनामा अहिले प्रति वर्गमिटर २२ देखि २५ प्रतिशतसम्म मूल्य पनि घटेको छ ।
अब पूर्ण रुपमा स्वदेशी खनिज र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदै लैजाने र उत्पादन लागत कम हुँदै जाँदा अझै मूल्य घट्ने उनको भनाइ छ । यसका लागि आफूहरुसहित अन्य उद्योगले पनि अधिकतम् स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न कच्चा पदार्थहरुको परीक्षण गरिरहेको अग्रवाल बताउँछन् ।
निर्यातको थालनी
लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालका अनुसार कोभिड अगाडीसम्म नेपालमा वार्षिक १२ अर्बको टायल्स कारोबार हुन्थ्यो । अहिले भौतिक निर्माणको काम केही सुस्त हुँदा माग घटेको छ । तर, विगतमा जुन मूल्यको आयात हुन्थ्यो, त्यो अहिले ६० प्रतिशतभन्दा बढीले घटेको उद्योगीहरुको दाबी छ ।
अब नेपाली टायल्स उद्योगहरुले आफ्ना उत्पादनमा नेपाल गुणस्तर चिन्ह लिन थालेपछि आयातको हिस्सा घट्दै जाने र निर्यातको समेत सम्भावना बढ्ने उद्योगी धितालको भनाइ छ । सँगै, उद्योगी अग्रवालले भने कजरियाले केही मात्रामा भारतीय बजारमा टायल्सको निकासी नै सुरु गरिसकेको समेत बताएका छन् ।
‘कजरिया भारतमा निर्यात हुन थालेको छ, हिजो भारतबाटै आयात हुने टायल्स यहाँ उत्पादन गरेर भारतमै पठाउन पाउँदा मलाई गर्व लागेको छ’ उनले भने, ‘अहिले ठूलो परिमाणमा गएको छैन, ३०/४० हजार स्क्वायर मिटर निर्यात भएको छ । यो क्रमश: बढ्दै जान्छ । हामीले भारतीय स्ट्याण्डर्ड (बीआईएस)का लागि आवेदन पनि दिएका छौँ ।’
यस आधारमा, वार्षिक १२ अर्बको आयात घटेर अहिले डेढ अर्ब हाराहारीमा सिमित भएको छ । अर्थात्, ३ वर्षको अवधिमा नेपालका उद्योगहरुले वार्षिक साढे १० अर्बको आयात रोक्न सफल भएका छन् । सँगै, निकासीमार्फत पनि मुद्रा आर्जन हुन थालेपछि उद्योगीहरु हौसिएका छन् ।
‘३ वर्ष अगाडी नेपोभिटले उद्योग लगाएर नेपालमै उत्पादन सुरु गर्यो, त्यसपछि उद्योगहरु आउने क्रम बढ्यो, अहिले निर्यातको चरणमा पुगिसकेको छ’ अग्रवाल थप्छन्, ‘अब छिटो भन्दा छिटो नेपाल स्ट्याण्डर्ड लागू हुनुपर्छ । यसपछि क्वालिटीका हिसाबले पनि हाम्रो उत्पादन थप विश्वसनीय हुन्छ ।’