कृषि उपज बजारीकरणमा गुल्मीको सत्यवती गाउँपालिका : गाउँदेखि शहरसम्म संकलन र विक्रीवितरण

टोपलाल अर्याल

रेसुङ्गा । गुल्मीको सत्यवती गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा दुध र मासुमा आत्मनिर्भर पालिका घोषणा गरिएको थियो । सत्यवतिमा कृषि र पशुपालन गर्ने सानाठूला गरेर करिव एक हजार किसान छन् ।

अहिले कृषि बजारीकरण वर्ष घोषणा गरिएको छ । पहाडी जिल्लाको समृद्धिको प्रमुख आधार कृषि र पर्यटन हो । सत्यवति गाउँपालिकाले पर्यटनको क्षेत्रमा पुर्वाधार निर्माण गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र बजारीकरणमा उदाहरणीय काम गरिरहेको छ ।

गाउँपालिकाले उत्पादनमा सहयोग मात्रै नभएर कृषि एम्बुलेन्स सञ्चालन गरेर बजारीकरणमा पनि सहजीकरण गरिरहेको छ । जसले उत्पादक तथा उपभोक्ता खुसी भएका छन् । गाउँपालिकाको १५ लाख ३१ हजार र संघीय सरकारको १९ लाख ३९ हजार गरेर ३४ लाख ७० हजार रुपियाँको लागतमा १५ क्विन्टल क्षमता कृषि एम्बुलेन्स खरिद गरेर संचालन गरिएको छ ।

यो एम्बुलेन्समा माइनस २५ डिग्री र प्लस २५ डिग्री सेल्सियससम्म तापक्रम कायम हुने भएकाले किसानको उत्पादन सुरक्षित रुपमा बजारसम्म पुग्ने भएको छ । किसान आफैले सञ्चालन र व्यवस्थापन गरेकाले बिचौलियाको समय अन्त्य भएको सत्यवति गाउँपालिका–१ अस्लेवाको किसान ओम कुवंरले बताउनुभयो ।

उहाँले गाउँपालिकाले बीउ, उपकरण, अनुदान, संकलन र कृषि एम्बुलेन्ससहित बजारीकरणमा गरेको सहयोगले सवै किसान उत्साहित भएको बताउनुभयो ।

किसानले दुःख गरेर उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनले मुल्य र बजार नपाउने अवस्थाको अन्त्य गर्न आफुहरुले सवै किसिमको सहयोग गरिरहेको सत्यवति गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेयले बताउनुभयो ।

उहाँले पालिका भित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादन स्थानीय बजार र पाल्पा वुटवल सहज ढङ्गले निर्यात गर्ने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गरिएको पाण्डेले जानकारी दिनुभयो ।

एम्बुलेन्स संचालनको लागि पालिका स्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र सबै वडामा उपसमिति गठन गरिएको छ । त्यस्तै वडाको टोल टोलमा संकलन केन्द्र राखिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख प्राविधिक उपकार भण्डारीले जानकारी दिनुभयो ।

कृषि एम्बुलेन्समा तरकारीसंगै मासु र दूध पनि ढुवानी गर्न सक्ने भण्डारीले बताउनुभयो । थाप्ले सत्यवती कृषि बजार समितिमा गाउँपालिका भित्रका सवै कृषि सहकारी तथा समुह आवद्ध छन् ।

किसानले मुल्यको प्रतिफल पनि आफै पाउने र उत्पादनमामा आधारित अनुदान पाउँदै आएका छन् । गाउँपालिकाले तरकारी, फलफुल, माछामासु, दूध र अण्डाबाट वार्षिक करिब १० करोड रुपियाँ बराबरको कृषि तथा पशुजन्य उत्पादन गर्दै आएको गाउँपालिकाको कृषि शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

सत्यवती गाउँपालिकाले गत वर्ष देखिनै बुटवलको हाटबजारको २८ नम्बर सटर भाडामा लिएर पालिकामा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बिक्रीवितरण गर्दै आएको छ । भण्डारीका अनुसार अघिल्लो बर्ष बिक्री केन्द्रबाट एक सय टन कृषि उपजहरु बिक्री भएको छ ।

सबै वडामा संकलित कृषि उपज बुटवल लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको छ । आफुहरुको चुनावी घोषणा पत्रमा उल्लेख भएको कृषि उत्पादनको बजार ग्यारेण्टी गर्ने काम पुरा गर्दे आएको सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताउनुभयो ।

सत्यवतिको उत्पादनको पहिलो उपभोक्ता स्थानीयनै भएकाले धेरै उत्पादन भए थोक तथा वुटवल रहेको गाउँपालिकाको बिक्रीकेन्द्रमा पठाइने तरामुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *