टोपलाल अर्याल
रेसुङ्गा । वैशाख र जेठ महिनामा परेको पानीले छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गका ४० बर्षीय बिष्णुप्रसाद भण्डारीको बारीमा लगाएका काँक्रा नष्ट हुने अवस्थामा छ ।
भण्डारीले पूर्णिमा कृषि तथा पशुपंक्षी फर्ममार्फत २८ रोपनी जग्गामा व्यावसायिक बे–मौसमी काँक्रा खेती गर्नुभएको छ । गत मंसिरमा रोपेर चैतबाट काँक्रा बिक्री थाल्नु भएका भण्डारीलाई वैशाख र जेठको बर्षाले क्षति गरेको हो ।
करिव २८ रोपनी जग्गामा टर्नेल बाहिर उत्पादन गरेका काँक्रा कुहिएर नष्ट भएको छ । उहाँले आफूले धेरै क्षेत्रफल जग्गामा काँक्रा उत्पादन गरेकाले टर्नेल किनेर राख्न सक्ने अवस्था नभएका कारण क्षति व्यहोर्नुपरेको बताउनुभयो । भण्डारीले चैत र वैशाख दोस्रो सातामै धेरै परिणाममा काँक्रा बिक्री गरिसकेकाले ठुलो समस्या नभए पनि टनेलमै राख्न पाएको भए पाँच–सात लाखको काँक्रा बिक्री गर्न सकिने अवस्था हुने बताउनुभयो ।
अब बजारमा मूल्य पनि नहुने र अधिकांश बिग्रन थालेकाले उपाय केही नभएर छाडेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “२८ रोपनीमा टनेल लगाउने हैसियत थिएन, जोखिम मोलेरै काँक्रा फलाएका कारण चैतमै बजारमा काँक्रा दिएँ । धेरै उत्पादन गर्ने भएकाले ठुलो घाटा खानु परेन् ।”
भण्डारीको फर्ममा कोरियन, जापानिज, भारतीय र भक्तपुरेलगायत सात प्रकारका काँक्रा छन् । खुल्ला आकाशमा रोपिएका काँक्रा बजारसम्म पुगेका छैनन् । उहाँले वडाबाट १२ किसानले हाते ट्याक्टर पाउँदा आफुले नपाएको दुखेसो पोख्नुभयो । उहाँले जिल्लाका निकाय र स्थानीय तहले एक पटक नकुच्ने र समस्या नसोध्ने गरेका कारण माग्दै आफू नगएको स्वीकार गर्नुभयो ।
आफूलाई तत्काल टनेल आवश्यक भए पनि हाते ट्याक्टर मागेर नपाएपछि स्थानीय सरकारसँगै गुहार अब नमाग्ने भण्डारीले बताउनुभयो । छत्रकोट गाउँपालिकाका कृषि अधिकृत प्रदिप पन्थले ठूला किसानलाई दिने आफूहरुसँग बजेट नभएको बताउनुभयो ।
गाउँपालिकाले कृषक पेन्सन सञ्चालन गरेको थियो । करिव ३० लाख रुपियाँको काँक्रा बिक्री भएको दावी अगुवा कृषक बिष्णु भण्डारीको छ । बिहान सवेरै उठेदेछि रात नपरेसम्म कृषि कर्ममै दिन बिताउने भण्डारीको तरकारीको गोडमेल र मलजल तथा टिप्ने, प्याकिङ्ग गर्ने दैनिकी बनेको छ ।
सुरुमा कुखरा पालनसंगै मासु व्यावसाय गर्नुभएका भण्डारी अहिले काँक्रा उत्पादकको रुपमा परिचित हुनुहुन्छ । उहाँले गत बर्ष सात लाख रुपियाँको काँक्रा बिक्री गर्नुभएको थियो । पूर्णिमा कृषि फर्ममार्फत करिव ५० लाख रुपियाँ कृषि र कुखुरा पालनमा भण्डारीले लगानी गर्नुभएको छ ।