रोपाइँको समयमा मलको हाहाकारले मधेशका किसान चिन्तित

रवीन्द्र उप्रेती

बर्दीबास । रोपाइँको समयमा मलको हाहाकारले मधेश प्रदेशका किसान चिन्तित भएका छन् । स्थानीय सहकारीमा मल नपाएपछि सीमावर्ती बजारसम्म पुग्दा पनि मल नपाएर रित्तो हात फर्कनु पर्दा किसानमा चिन्ता बढेको हो । किसानलाई मल व्यवस्था गर्न नसक्ने निरीह अवस्थाले मधेश सरकारको ‘मुलुकलाई नै खुवाउने’ महìवाकाङ्क्षी अभियानले सार्थकता पाउँनेमा आशङ्का उठेको छ ।

मधेश प्रदेश कृषि निर्देशनालयका अनुसार अहिलेसम्म २५ प्रतिशतभन्दा बढी रोपाइँ भइसक्नुपर्ने हो । असार १५ बितिसक्दा प्रदेशमा १५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका बाली संरक्षण अधिकृत सुदीप चौधरीले बताउनुभयो ।

महोत्तरीको अवस्था त थप दयनीय छ । अहिलेसम्म जिल्लामा एक प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रोपाइँको बेला खेतीपाती छोडेर किसान मल खोज्दै बजार धाउन बाध्य छन् । वडाको सिफारिस लिएर सहकारी धाउँदा पनि मल नपाएको किसानको गुनासो छ । बर्दीबास–५ का लालबहादुर थापा एक बोरा युरिया र १० किलो डिएपीको सिफारिस लिएर असार ११ गतेदेखि बर्दीबास बजार धाइरहनुभएको छ ।

बुधबार बर्दीबास–१४ स्थित किसान सेवा कृषि सहकारीमा भेटिनुभएका थापाले पीडा पोख्नुभयो “मकैको बोटमा पनि मल हाल्ने बेला भएको छ । बजारमा पाइँदैन । धान कसरी रोप्ने ? अलमलमा छौँ ।” बर्दीबास–५, वरडाँडाकी रमा वाइबा, बर्दीबास–३, गौरीडाँडाकी करुणा माझी र बलदेव बोहराले असार लागेदेखि मलकै लागि सहकारीका पसलमा चहार्दा पनि नपाएको बताउनुभयो । किसान सेवा कृषि सहकारी सञ्चालक रविराज दहालले युरिया मात्र खोज्दै दैनिक सय जनाभन्दा बढी किसान आफ्नो पसलमा आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मल छैन भन्दा किसान झगडा नै गर्न खोज्छन् । वडाको सिफारिस लिएर आउँदैमा हामीले कहाँबाट ल्याएर दिने ?”

महोत्तरीका बर्दीबास, गौशाला, भङ्गाहा सीतापुर नगरपालिका, समसी गाउँपालिकासमेत औरहीको वडा नं ३, सोनमाको वडा नं ८ र धनुषाका उत्तरवर्ती पालिकालाई ढल्केबरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयले मल आपूर्ति गर्दै आएको छ । कार्यालय प्रमुख आलोक झाका अनुसार प्रदेश मल वितरण समितिले जमिनको क्षेत्रफल, मल खपतको अभिलेख र बाली सघनताको आधारमा निर्धारण गरिदिएको कोटाबमोजिम लिमिटेडको ढल्केबर शाखाले स्थानीय तहलाई मल उपलब्ध गराउँदै आएको छ । यसरी उपलब्ध गराइएको मल नै अपुग भएको स्थानीय तहको गुनासो छ । बर्दीबासस्थित कृषि शाखाका साजन दहालका अनुसार बर्दीबास नगरपालिकामा चार हजार ३८५ हेक्टर खेतीयोग्य जमिन छ । धान मकैलाई न्यूनतम तीन हजार बोरा युरिया आवश्क छ ।

प्रदेश मल वितरण समितिले भने बर्दीबास नपाका लागि अधिकतम एक हजार ४४० बोरा युरियाको कोटा तोकेको छ । एक बोरा बराबर ५० किलो हुन्छ । दाहालले भन्नुभयो, “यो अवस्थाले जहिले मलको हाहाकार हुने गरेको हो । बर्दीबासको यो अवस्था प्रदेशका सबै स्थानीय तहको साझा समस्या हो ।” कृषि सामग्री ढल्केबर प्रमुख झाले भन्नुभयो, “युरिया पनि वैशाखदेखि आएको छैन । हामीले कसरी आपूर्ति गर्ने ?” महोत्तरीमा ४४ हजार १७९ हेक्टरमा धान र चार हजार तीन सय हेक्टरमा मकै खेती हुने गरेको छ । असार दोस्रो साता बितिसक्दा रोपाइँ भने एक प्रतिशत मात्र भएको ज्ञान केन्द्र प्रमुख देवानन्द रायले बताउनुभयो । मल अभावले रैथाने मकैको उत्पादनमा पनि ह्रास आउन सक्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *