हराउँदै जुम्लाको ‘बालो नाच’

नौरते नेपाली

सिँजा , जुम्ला । कला, संस्कृति र मौलिक परम्पराले भरिपूर्ण जुम्लाका परम्परागत चलनले समाजमा आफ्नै पहिचान बनाएका छन् । समयक्रमसँगै यस्ता मौलिक पहिचान हराउँदै गइरहेका छन् । यस्तै हराउने अवस्थामा पुगेको छ, बालो नाच ।

बालक जन्मिएपछि स्वागत र खुसियाली मनाउन बालो नाच हराउँदै गएकोमा स्थानीय चिन्तित देखिन्छन् । परम्परा अनुसार बालक जन्मेको छ दिनदेखि न्वारनसम्म गाउँका महिला र पुरुष बालकको घरमा पुगेर नाचगान गर्छन् । उनीहरूले बालकको प्रतीकात्मक स्वरूप बनाएर नाच्ने गाउने गर्छन् ।

यी गीतमा हर्ष, आर्शीवाद, हास्य र कहिलेकाहीँ व्यङ्ग्य पनि मिसिएको हुन्छ । गीत गाउने क्रममा उनीहरूले घरका सदस्यबाट दक्षिणा, वस्त्र वा अन्य दान लिने परम्परा छ । पछिल्लो समय यस्ता संस्कृति हराउँदै गएकोमा स्थानीय खडानन्द चौलागाईंले दुःखेसो पोख्नुभयो । उहाँले परम्परागत संस्कृतिले समाजको मौलिक पहिचान झल्काउने बताउँदै ती संस्कृति लोपोन्मुख हुन नदिन जनस्तरबाट सक्रियता बढाउनुपर्ने औँल्याउनुभयो । पछिल्लो समयमा आधुनिक गीतसङ्गीतको प्रभावले यस्ता परम्परागत संस्कृति लोपोन्मुख भइरहेका छन् । स्थानीय गायक तथा संस्कृतिकर्मी विश्वराज खत्रीका अनुसार आधुनिक गीतसङ्गीतको बजारले यस्ता मौलिक परम्परालाई बिस्तारै विस्थापित गरिरहेको छ । कुनै समय यी संस्कृतिको महत्व बेग्लै थियो । बच्चा जन्मिँदा बालो नाच नचाइन्थ्यो । घर घरमा नयाँ बालक जन्मेको खुसियालीमा बालक झैँ दुरुस्तै बनाएर नचाउने, गीत गाउने र त्यसको बदलामा केही रकम माग्ने प्रचलन थियो, संस्कृतिकर्मी खत्रीले भन्नभयो । यस्ता गीतसङ्गीतले मनोरञ्जन दिनुका साथै सामूहिक खुसी बाँडी समाजमा आपसी मेलमिलाप तथा भाइचारा बलियो बनाउने गरेको चौलागाईंले बताउनुभयो । पछिल्लो समय आधुनिक सङ्गीत र जीवनशैलीको प्रभावले गर्दा बालो नाचको परम्परा हराउँदै गएको छ । पहिले जसरी गाउँघरमा बालो नचाइने र गीत गाइने चलन अब विरलै मात्र देखिन्छ । यस्तै अवस्था रहे केही वर्षमै यो मौलिक संस्कृति कथाका रूपमा सीमित हुने डर स्थानीयलाई छ । त्यसैले सचेत भएर यस्ता परम्परालाई संरक्षण र प्रवर्धन गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको चौलागाईं बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *