रमेश विश्वकर्मा
गुल्मी। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ निर्माण कार्य सुरु भएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन र स्काई साइक्लिङ निर्माण गर्न लागिएको हो ।
गुल्मी जिल्लाको समुन्नतिको प्रमुख आधारको रुपमा रहेको रेसुङ्गाको पर्यटन प्रवर्धन गर्नुका साथै साहसिक पर्यटकहरुलाई ल्याउनका लागि यस क्षेत्रमा जिपलाइन र स्काई साइक्लिङ निर्माण सुरु गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनभयो । आन्तरिक तथा बाह्य पर्यटनको अत्यधिक सम्भावना भएको रेसुङ्गा क्षेत्रमा साहसिक पर्यटकीय पूर्वाधारले पर्यटक आगमनमा थप आशा जगाउने विश्वास लिएको उहाँले बताउनुभयो ।
गुल्मीलगायत आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारका कामहरु अगाडि बढेको छ । साहसिक पर्यटनको क्षेत्रमा जिपलाइन र स्काई साइक्लिङ लगायतका मनोरञ्जनका पूर्वाधार निर्माणले यस क्षेत्रको पर्यटनलाई बढावा दिनमा ठुलो मद्दत पुग्ने नगरप्रमुख पन्थीले बताउनुभयो । यसलाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) को अवधारणाअनुसार अगाडि बढाइने उहाँको भनाइ छ ।
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत रेसुङ्गा गर्जुरादेखि नुनामारेसम्म जिपलाइन र रेसुङ्गा पार्कदेखि गर्जुरासम्म स्काई साइक्लिङ निर्माण सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ९९ लाख र रेसुङ्गा नगरपालिकाको २६ लाख रुपियाँ लगानीमा २०८२ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०८१ असोजमा खनाल इन्फा प्रालिसँग सम्झौता भएको थियो ।
वन क्षेत्रको भोगाधिकार समयमै नआएको कारण निर्माण कार्यमा ढिलाइ भएको रेसुङ्गा नगरपालिकाका योजना शाखा प्रमुख विनोद मरासिनीले बताउनुभयो। यस क्षेत्र राष्ट्रिय वनक्षेत्रमा पर्ने हुँदा जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि नेपाल सरकारसँग स्वीकृत प्रदान गर्न रेसुङ्गा नगपालिकाको तर्फबाट अनुरोध गरिएको थियो ।
सोही बमोजिम गत असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेसुङ्गा नगरपालिकालाई जिपलाइन र स्काई साइक्लिङ निर्माणका गर्नका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो । रेसुङ्गा नगरपालिका-८ मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।
रेसुङ्गा नगरपालिकाले यो वन क्षेत्रको भोगाधिकार पाएसँगै जिपलाइन र स्काई साइक्लिङ निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ । २०८२ असोज मसान्तसम्म निर्माणकार्य समपन्न गर्ने गरी निर्माण कम्पनीलाई म्याद थप गरिएको नगरपालिकाले जनाएको छ ।