चन्द्र नहरमा प्रयाप्त पानी नदिँदा सप्तरीका हजारौँ किसान प्रभावित

देवराम प्रसाद यादव

सप्तरी। लामो समयदेखि वर्षा नहुँदा चन्द्र नहरमा पानी नदिँदा सप्तरीका हजारौं किसान धान रोपाइँबाट बन्चित भएका छन् ।

साउनको पहिलो साता बित्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको हो ।

लामो समयदेखि वर्षा नहुदा चन्द्र नहरमा त्रियुगादेखि दुई किलोमीटर उत्तरमा पर्ने काली खोलामा पानीको सतह धटेको कारण नहरमा पानी नआएको कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार खडेरीको कारण त्रियुगा, काली खोलाको मुहानमा पानीको सतह धटेको कारण चन्द्र नहरमा पानीको यहाँका किसानहरू सिँचाइ गर्नबाट बन्चित भएको बताउनुभयो ।

चन्द्र नहरको पानी महादेवासम्म नआए पछि यहाँका किसान धान रोप्नबाट बन्चित भएको महादेवा गाउँपालिका-१ का दीपक यादव बताउँछन् । तिरहुत-४ का किसान चन्द्रदेव यादवले नहरको व्यवस्थापनमा सरकारले आवश्यक ध्यान नदिँदा आफूहरू समस्यामा पर्दै आएको बताउँछन् ।

तीन वटै तहका सरकारका प्रतिनिधिहरू किसानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँछन् ।यहाँका किसान खडेरीको मारको कारण अहिले सिँचाइ समस्याले हजारौं किसान प्रभावित भइरहेका छन् ।

अकाशे पानीको भरमा खेती हुने किसानका लागी चन्द्र नहर वैकल्पिक सिँचाइ प्रणाली हो । तर, शताब्दी पुरानो नहर खडेरीको कारण किसान धान रोप्नबाट बन्चित भएका छन् ।

लामो समयदेखि वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । साउन महिनाको पहिलो साता बित्न लाग्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको हो ।

साउनको पहिलो सातासम्ममा जिल्लामा मात्र ३५ प्रतिशत धान रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । आकासे पानीको भरमा खेतीपाती गर्दै आएका किसानले वर्षा नभएकै कारण रोपाइँ गर्न सकेका छैनन् भने बोरिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेका छन् ।

जिल्लाको १८ वटा पालिकामध्ये दक्षिणी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा ६० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।

उहाँले सप्तरीको दक्षिणी भेगमा पश्चिमी कोशी नहरको सिँचाइ पुगेका जग्गामा ६० प्रतिशत, मध्य भागमा कोशी पम्प नहरको सिँचाइ पुगेका जग्गामा ३२ प्रतिशत र उत्तरी भेगमा बोरिङ मोटरको प्रयोगबाट सिँचाइ गरी १५ प्रतिशत धान रोपाइँ भएको बताउनुभयो ।

गत वर्ष सप्तरीमा दुई लाख ७४ हजार एक सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको थियो ।

धान रोपाइँ ढिलो हुनुका साथै सिँचाइको अभावले गर्दा उत्पादनमा समेत असर पर्ने देखिएको छ। यसले खाद्य सङ्कटको सम्भावना बढाएको स्थानिय किसानहरू बताउँछन ।

यता गत असार २६ गते मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सङ्धीय सरकारले समेत सङ्कट ग्रस्त क्षेत्र धोषणा गरी प्रधानमन्त्री खडकप्रसाद (केपी)शर्मा ओलीले मधेश प्रदेशमा ५ सय डिप वोरिङ गाडिने धोषणा गर्नुभयो ।

तिन तहका सरकारले अहिलेसम्म केही स्थानमा खानेपानी वितरण गर्नुबाहेक किसानका लागि कुनै योजना वा राहत ल्याउन नसकेको स्थानीयको आरोप छन । चन्द्र नहर नेपाल–जापान सरकारको मैत्रीपूर्ण सहयोगमा पुनः निर्माण आन्सिक रूपमा भएको छ ।

आधुनिक चन्द्र नहरमा ११.५ घनमिटर पानी डिस्चार्ज हुने कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापनका प्रमुख एकराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नहरमा पर्ने सैफन र पुलहरूको काम केही मात्रामा भए तापनि अझै बाँकी रहेको बताउनुभयो ।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापनका प्रमुख भट्टराईले ३२ वटा संरचना निर्माणका लागि २ अर्ब २५ करोड ६० लाख जापानी रुपियाँको लागतमा २०७९ कार्तिक महिनादेखि निर्माण गर्न सुरू भएको मर्मत काम यही असार १५ गते सम्पन्न भएको बताउनुभयो ।

चन्द्र नहर सप्तरीको उत्तरपूर्वी क्षेत्रमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरले स्थापना गरेको नेपालको पहिलो सिँचाइ परियोजना हो । यसको निर्माण वि.स. १९७९ मा शुरु भई वि.स. १९८५ मा सम्पन्न भएको थियो ।

करिब ३१ किलोमिटर लामो चन्द्र नहरबाट सप्तकोसी नगरपालिका, कन्चनरूप नगरपालिका, तिरहुत गाउँपालिका, हनुमाननगर कङ्कालनी नगरपालिका, महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका-८ का र अग्निसाइर कृष्णसंवरण गाउँपालिका–४, ग्रामिण क्षेत्रका किसानहरूलाई सिँचाइ सुविधा पुर्‍याइरहेको छ ।

सप्तरी र उदयपुरको सिमाना नदी त्रियुगादेखि दुई किलोमीटर उत्तरमा पर्ने काली खोलाबाट पानी ग्रामीण क्षेत्रमा पुर्‍याउन यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका थिए । यस नहरबाट सप्तरीका लगभग साढे १० हजार हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *