पर्वत । “खुर्सानी फलेको देख्दा खुशी त लाग्छ, तर बजार नपाएर कुहिएर जान्छ कि भन्ने डरले रात काट्न गाह्रो छ।” यो भनाइ हो, वैदेशिक रोजगारबाट फर्केर गाउँमै पसिना बगाउँदै आएका पर्वतको जलजला गाउँपालिका–९ , बनौंका युवा कृषक निर्मल पुनमगरको।
झण्डै दश वर्ष साउदी, ओमान र कतारमा पसिना बगाएर आम्दानीको खोजीमा बिताएका ४४ वर्षीय पुनले अब आफ्नै माटोमा कर्म गर्नुपर्ने सोचेर गाउँ फर्किए। गाउँमै रोजगारीको अवसर खोज्ने क्रममा उनले ६ सय बोट सुन्तलाको बगैँचाभित्र अन्तरे बालीको रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन्।
पुनले गत वर्ष ९० बोट खुर्सानी परीक्षणस्वरूप लगाउँदा ३० हजार रुपैयाँ आम्दानी भयो। त्यस सफलताबाट हौसिएर यस वर्ष १२ हजार बेर्ना लगाएर व्यावसायिक उत्पादनमा लागेका हुन्। खुर्सानी राम्ररी फले पनि अहिले बजार अभावका कारण उनको मनमा गहिरो पीडा छ।
उनी भन्छन्, “देशमै केही गर्छु भनेर फर्केको, खुर्सानी देखेर त खुशी लाग्छ, तर बजार छैन, बेच्न नपाएर कुहिएला कि भनेर चिन्तित छु। अब अचार बनाएर बिक्री गर्ने सोचमा छु।”
गाउँकै उन्नत कृषि प्रविधि अंगाल्दै पुनले मल्चिङ विधिबाट खेती गर्दै आएका छन्। प्लास्टिकले जमिन छोप्दा झार कम पलाउने र उत्पादन बढ्ने हुँदा यस विधि प्रभावकारी भएको उनको अनुभव छ।
निकिता एकीकृत कृषि तथा पशुपंक्षी फर्म स्थापना गरेर पुनले खुर्सानीसँगै सुन्तला, तरकारी र कुखुरापालनमा पनि व्यावसायिक पाइला चालेका छन्। उनको खुर्सानी कुश्मा, बेनी र बागलुङमा प्रतिकिलो ३०० रुपैयाँका दरले बिक्री हुन थालेको छ। हालसम्म २०० किलो खुर्सानी बिक्री भइसकेको छ।
विदेशको १० वर्षको श्रमपछि अपेक्षित सफलता नपाएका पुन अहिले आफ्नै भूमिमा श्रीमती माया पुनको साथमा आत्मनिर्भर बन्न संघर्षरत छन्।
स्थानीय वडाध्यक्ष गौबहादुर पुनका अनुसार, “कृषक पुनको खुर्सानीलाई बजार पुर्याउन वडा कार्यालयले सहजीकरण गर्छ।” जलजला गाउँपालिकाले उनलाई मल्चिङ सामाग्री, मिनी टेलर हलो र रोग नियन्त्रणमा पनि सहयोग पुर्याएको छ।
बनौं गाउँ यातायात सुविधायुक्त कृषियोग्य क्षेत्र हो, जहाँ आलु, सुन्तला, किवी र सत्तुवा खेतीले राम्रो सम्भावना बोकेको छ।