बर्दिया । आधा रातदेखि मलको पर्खाइमा लाइनमा उभिएका किसान बिहानको घामसँगै रित्तो हात फर्किन बाध्य भए। यो कुनै कथा होइन, बर्दिया जिल्लाको वास्तविकता हो।
गत साउन २७ गते बढैयाताल गाउँपालिका–६ भित्रका पाँच सहकारी संस्थाले युरिया मल वितरणको सूचना जारी गरे। सूचना अनुसार प्रत्येक किसानलाई २५ किलो युरिया दिने भनिएको थियो। तर बुधबार राति २ बजेदेखि लाइनमा बसेका किसानलाई अत्यधिक चापका कारण मल नै वितरण गरिएन।
“आज मल लगाएर खेतमा हाल्छु भन्ने ढुक्क थिएँ, तर सपना जस्तै भयो,” मैनापोखरका किसान जगतु थारूको स्वरमा थकान मात्र थिएन, निराशा पनि मिसिएको थियो।
मधुवन नगरपालिका–७ की शान्ति अधिकारीको कथा पनि उस्तै छ। दिनभर लाइनमा बसेर सहकारीबाट पाएको छ किलो युरिया उनीसँगको एक बिघा १० कट्ठा खेतका लागि पर्याप्त हुने कुनै सम्भावना थिएन। “यति मल कता हाल्ने हो? यसपालि त धानै नफल्ने हो कि भन्ने चिन्ता छ,” उनले भनिन्।
ताराताल साना किसान कृषि सहकारीमा ३,८०० कृषक सदस्य भए पनि यसपटक धानका लागि ३६८ बोरा मात्र युरिया आयो। बराबरी बाँड्दा किसानको हातमा मात्र ६ किलो पुग्यो। उता, गुलरिया नगरपालिका–३ को कल्पतरु कृष्णसार कृषि सहकारीमा ४०० किसानका लागि ५२ बोरा मात्र युरिया आएको अध्यक्ष चिन्तामणि कँडेलले बताए। “एक बोरा मल पाँच किसानले बाँडेर लग्यो, प्रहरी नै परिचालन गरेर वितरण गर्नुपर्यो,” उनले तीतो अनुभव सुनाए।
जिल्लाभर रासायनिक मलको चरम अभाव छ। केही सहकारीहरूले ‘नल्याऊँ’ भन्ने मनस्थिति बनाएका छन्, किनकि ल्याएपछि वितरणमै विवाद हुने डर छ। तर नल्याए किसानले त्यो थोरै भए पनि पाउँदैनन्।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार, जिल्लामा धान खेती करिब ५१ हजार हेक्टरमा हुने गर्छ। वार्षिक माग १२ हजार मेट्रिक टन युरिया भए पनि उपलब्धता ५० प्रतिशत मात्र छ। “मलको अभावसँगै यस वर्ष धान उत्पादन घट्ने निश्चित छ,” उनले भने।
बर्दियाली किसानको यो पीडा केवल खेतीपातीको समस्या मात्र होइन, यो उनीहरूको पेट, जीवन र भविष्यसँग जोडिएको प्रश्न हो। रातभरको पर्खाइ र बिहानको निराशा — यो कहिले अन्त्य हुन्छ?