प्युठान । झिमरुक गाउँपालिका–८ को टिमुरचौरमा आजकल बारीभरि असाध्यै रमाइलो चल्दैछ। कोही टाउकोमा डोको बोकेर मकै थुपारिरहेका छन्, कोही हँसियाले दाना काट्दैछन्। तर यो केवल बाली भित्र्याउने सामान्य दिन होइन, गाउँको साझा परम्परा र सहकार्यको अद्भुत उदाहरण हो।
यो पहलको केन्द्रमा छन् हरिबाबु भण्डारी। उनकी पत्नी सीता भण्डारी काठमाडौँको एभरेस्ट अस्पतालमा पाठेघरको शल्यक्रियापछि उपचाररत भएकीले, खेतमा पाकेको मकै भित्र्याउने समय उनलाई मिलेको थिएन। परिवारमा एउटी छोरी जागिरे र दुई साना नानी भएकाले खेतबारी सम्हाल्ने जिम्मा पनि जटिल बनेको थियो।
यही बेला गाउँका छरछिमेकीले एकताबद्ध हुँदै बारीमा पसिना बगाए। कसैले मकै काटिदिए, कसैले बोकेर घरसम्म पु¥याए। अस्पतालमा रहँदा भण्डारी परिवारको घरको दैनिक कामकाज पनि गाउँलेले नै हेरे।
“हामीकहाँ कोही दुःखमा पर्यो भने सहयोग नगरी बस्न सकिन्न,” स्थानीय अमर घर्ती भन्छन्, “टिमुरचौरमा यस्तो भावना पुस्तौँदेखि जगेडा भएर आएको हो।”
अस्पतालमै रहेर हरिबाबुले सबैलाई आभार व्यक्त गरे, “गाउँले देखाएको माया र सहयोगका कारण मलाई एक्लो महसुस भएन।” उनका अनुसार श्रीमतीको स्वास्थ्यमा सुधार भइसकेको छ र उनी घर फर्कने तयारीमा छन्।
टिमुरचौरको यो घटना केवल एक परिवारको राहत मात्र होइन, गाउँको पुरानो संस्कारको पुनः स्मरण हो—जहाँ दुःखमा सबैको हात मिल्छ, र खुशीमा सबैको अनुहार उज्यालो हुन्छ।