सुनसरी । “दूध बेचेरै गाउँमा करोडौंको आम्दानी” — सुन्दा कथा जस्तो लाग्छ, तर सुनसरीको वराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरका किसानहरूको यथार्थ यही हो । पशुपालनमा गरेको लगानी र मेहनतले यहाँका कृषकहरूले आफ्नो दैनिकी मात्र होइन, गाउँको आर्थिक स्तर नै माथि उठाइरहेका छन् ।
पूर्वमा रामधुनी जंगल र पश्चिममा सप्तकोशी नदीको बीचमा फैलिएको प्रकाशपुर क्षेत्र पशुपालन र कृषि दुवैका लागि उर्वर मानिन्छ । यही उर्वर भूमिमा पसिनाको सिंचाइ गरेर स्थानीय किसानहरूले दुग्ध उत्पादनलाई आफ्नो मुख्य आधार बनाएका छन् । स्थानीय किसान रामबाबु रौनियार भन्छन्, “दूध बेचेर नाफा हुने देखेपछि युवापुस्तासमेत पशुपालनमा आकर्षित भएका छन् ।”
प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध करिब पाँच सय किसानले दैनिक दुध संकलनमा सहभागी हुने गरेका छन् । संस्थाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै ६ लाख १९ हजार ९३ लिटर दुध किसानबाट खरिद गरिएको छ ।
संस्थाले किसानलाई गत आर्थिक वर्षमा मात्र ४ करोड २४ लाख ५९ हजार ८१२ रुपियाँ भुक्तानी गरेको छ । अध्यक्ष हुमजङ्ग बस्नेत भन्छन्, “हाम्रो सहकारीले नियमित खरिद र समयमै भुक्तानी गरेपछि किसानहरू पशुपालनमा अझै प्रोत्साहित भएका छन् । एकै किसानले मासिक एक लाख रुपैयाँसम्म पनि कमाइरहेका उदाहरण छन् ।”
चार दशकदेखि सक्रिय सहकारीले सदस्य मात्र नभई गैरसदस्य किसानको पनि दुध खरिद गर्दै आएको छ । सहकारीले दुध मात्र संकलन गर्ने होइन, किसानलाई सहुलियत दरमा दाना र चौकर पनि उपलब्ध गराउँदै आएको छ ।
संकलित दुध प्रकाशपुर भित्र र बाहिरका चारवटा डेरी र सहकारीमा बिक्री हुँदै आएको छ । यसले गाउँको भित्रिने नगद प्रवाह बढाएको छ भने किसानहरूको जीवनस्तरमा उल्लेख्य सुधार गरेको छ ।
स्थानीय लेखापाल जगतबहादुर कार्कीका अनुसार, दुग्ध उत्पादनकै कारण प्रकाशपुरमा वार्षिक करोडौं रुपैयाँ भित्रिने गरेको छ । यसले किसानलाई आत्मनिर्भर बनाउन मात्र होइन, गाउँको समग्र आर्थिक चक्रलाई चलायमान बनाएको छ ।
प्रकाशपुरका किसानहरूले गाई–भैसी पालेर दुग्ध उत्पादनलाई व्यवसायिक रूपमा अगाडि बढाएसँगै गाउँको पहिचान नै ‘दुधको भण्डार’ का रूपमा स्थापित हुँदै गएको छ ।