कृषक नसमेट्ने सरकारी नीति: युवा फर्कने छैन, गाउँ बाँच्दैन !

नेपालका गाउँ–घरका पाखा–पखेरा उर्वर जमिन वीरानो हुँदैछन्, युवा विदेश पलायन भइरहेको छ। यसको मुख्य कारण स्पष्ट छ—कृषकको पक्षविना बनाइएका अस्थिर कृषि नीति र स्वदेशी उत्पादनको संरक्षणमा सरकारको उदासीनता।

युवा फर्काउन र किसानलाई भरोसा दिन, कृषि नीति तुरुन्त कृषकमै केन्द्रित हुनुपर्छ। मल, बीउ, औजार प्रीपेड प्रणालीमा उपलब्ध गराउने, उत्पादन बिक्रीपछि मात्र भुक्तानी लिन सकिने व्यवस्था लागू गर्नुपर्छ। बिक्री ग्यारेन्टी स्थानीय सरकारको जिम्मेवारी हुनुपर्छ, जसरी व्यवसायीले अग्रिम भुक्तानी गर्छन्। प्राकृतिक विपत्ति वा क्षति भए तुरुन्त मूल्याङ्कन र बीमा उपलब्ध गराइनुपर्छ।

तर विडम्बना—नेपालमा नीति–निर्णय मन्त्रीको मनले बदल्ने खेल बनेको छ। दशैँ–तिहारमा विदेशी फूल प्रतिबन्धको नियम १० दिन बाँकी रहँदा लागू हुन्छ, विदेशी मह आयात खुलेर नेपाली उत्पादनको मूल्य घटाउँछ। किसान महिनौँ लगाएर मेहनत गर्छन्, तर निर्णयमा अस्थिरता र व्यक्तिगत स्वार्थले उनीहरूको मेहनत निष्फल बनाइदिन्छ।

पहाडी जमिनमा दीर्घकालीन बाली लगाउन प्रोत्साहन दिनुहोस्। नेपालमा पूर्ण उत्पादन हुने तरकारी, आलु, काउली, टमाटर, प्याज, अदुवा, लसुन जस्ता वस्तु आयात पूर्ण रूपमा बन्द गर्नुहोस्। स्वदेशी उत्पादनको प्राथमिकता बिना किसान जोखिममा हुन्छन्, युवा विदेश जान बाध्य हुन्छन्।

सरकार, अब पर्याप्त समय सकियो ! कृषकको पक्षमा स्थिर नीति, उत्पादन बिक्री ग्यारेन्टी, स्वदेशी उत्पादन संरक्षण र बीमा व्यवस्था तुरुन्त लागू गर्नुहोस्। यी कदम बिना गाउँ बाँच्दैन, युवा फर्कन्नन्, र किसान निराश भएर खेती छोड्नेछन्।

नेपालले आफ्नो भविष्यको ग्यारेन्टी गर्न चाहन्छ भने—तत्काल क्रियाशील नीति ल्याउनुहोस्, किसान र युवालाई भरोसा दिनुहोस्, देशको उर्वर जमिन बचाउनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *