बागलुङ । नेपालका रैथाने बालीमध्ये एक समय लोप हुने अवस्थामा पुगेको कोदो बाली पुनः लोकप्रिय बन्दै गएको छ। बागलुङमा प्राचीन कालदेखि मुख्य अन्नका रूपमा चिनिएको कोदो पछिल्ला वर्षहरूमा संरक्षण तथा प्रवर्द्धन अभियानले नयाँ परिचय पाउँदै छ।
पहिले गाउँघरको साधारण खानेकुरा मानिने कोदो अहिले शहरका रेष्टुराँ, होटलदेखि होम–स्टेमा आकर्षक परिकारको रूपमा प्रस्तुत हुन थालेपछि यसको माग व्यापक रूपमा बढेको छ। चिसो मौसममा विशेषगरी लोकल कुखुराको मासुसँग कोदोको ढिडो र कोदोको सेलरोटी शहर बजारमा अत्यधिक माग हुने परिकार बनेका छन्।
कृषि ज्ञान केन्द्र बागलुङले रैथाने बाली संरक्षण अभियान थाल्नासँगै किसान पनि उत्साहित भएका छन्। झन्झटिलो मानिने यो बालीको महत्त्व बढ्दै जाँदा किसानले विद्युतीय उपकरणको प्रयोग गर्दै आधुनिक पद्धतिमा कोदो चुट्न थालेका छन्।
घरबास तथा पर्यटन प्रवर्द्धनमा पनि कोदो महत्वपूर्ण बन्दै छ। धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबास, मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी विशेष परिकारको रूपमा पेश गरिँदै आएको छ। पहिला गरिबको खाना मानिने कोदो अहिले शहरबजारमा आकर्षक र स्वास्थ्यप्रद परिकारका रूपमा चिनिन थालेको संचालकहरूको अनुभव छ।
बागलुङका सिगाना, भिमापोखरा, ढोरपाटन, तमानखोला, निसीखोला र बरेङ क्षेत्रमा कोदो खेती धेरै गरिए पनि केही वर्षदेखि केही जमिन बाँझो राखिँदै आएको थियो। तर पछिल्लो समय बढ्दो महत्त्व र बजार मागको कारण किसान क्रमशः बाँझो जग्गासमेत कोदो खेतीमा प्रयोग गर्न सुरु गरिरहेका छन्।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो, फापर र सिस्नोमा पाइने आयरल र मिनरलका कारण रैथाने बालीलाई पुनर्जीवित गर्ने अभियान अघि बढाइएको छ। उच्च उब्जनी दिने बीउ वितरण, यान्त्रीकरणमा सहयोग र नगद अनुदानजस्ता कार्यक्रमका कारण किसान कोदो खेतीतर्फ झनै आकर्षित भएका छन्।
हाइब्रिड धान, गहुँ र मकै उत्पादन गर्ने किसानले परम्परागत कोदो बालीलाई पनि त्यत्तिकै महत्व दिन थालेपछि बागलुङमा कोदो खेती पुनः विस्तार हुँदै गएको छ। शहर बजारमा बढ्दो माग र स्वास्थ्यप्रद गुणका कारण कोदो बालीले बागलुङमा मात्र होइन, देशभर फेरि आफ्नो पुरानो प्रतिष्ठा फिर्ता ल्याइरहेको देखिन्छ।
