काठमाडौं । आज महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साधु–सन्तहरूको बाक्लो उपस्थिति देखिएको छ भने दर्शनार्थीको चाप बढेसँगै मन्दिरका चारवटै ढोकाहरू खुला गरिएको छ।
भीड व्यवस्थापनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा र यातायात व्यवस्थापनको विशेष योजना लागू गरेको जनाएको छ। पूजाआजा तथा दर्शनका लागि आउने भक्तजनलाई सहज आवतजावत र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले निश्चित स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।
यस्तो छ ट्राफिक व्यवस्थापन:
गौशाला क्षेत्र हुँदै चक्रपथतर्फ चल्ने सवारी साधनहरू सामान्य अवस्थामा सञ्चालन गरिनेछ। तर, अत्यधिक भीडका कारण सवारी सञ्चालन असहज भएमा गौशाला क्षेत्रमा अस्थायी रूपमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने ट्राफिकले जनाएको छ।
चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। तर, भीडभाड अत्यधिक भएमा डाइभर्सन गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ।
तीनकुनेबाट सिनामंगल, बौद्ध क्षेत्रबाट गौरीघाट तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारी साधनलाई आवश्यकता अनुसार रोक लगाइनेछ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ तोकिएको छ। गौशाला चोकमा सवारी सञ्चालन असम्भव भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतिदेवी मोड–रातोपुल तथा सिफल चौर–जय बागेश्वरी रुटमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने योजना रहेको छ।
कहाँ-कहाँ छ पार्किङ व्यवस्था?
सिफल चौर – दर्शनार्थी, पासवाहक सवारी तथा सुरक्षाकर्मीका सवारी साधन
गुहेश्वरी पारी – तीर्थयात्री र दर्शनार्थीका सवारी साधन
पशुपति विकास कोष कार्यालय/भण्डारखाल – पासवाहक सवारी साधन
तिलगंगा आँखा अस्पताल तथा करिडोर क्षेत्र – तीर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी साधन
वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संघ–संस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन
प्रहरी वृत्त गौशाला – पासवाहक र सरकारी सवारी साधन
ट्राफिक प्रहरीले सम्भव भएसम्म सार्वजनिक सवारी साधन प्रयोग गर्न र ट्राफिक नियम पालना गरी सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।
