दशैँ आयो, त्यो रौनक आएन !

कान्ति न्यौपाने । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि दशैँ आयो । तर, बाल्यकालको उमंग उत्साह बोकेर होईन, केही जिम्मेवारी दिएर, केही गुमे केही छुटेको अनुभव दिनेगरी । आज पनि मेरो मानसपटलमा बाल्यकालमा मनाएको दशैँ ताजै छन् । घरको सबैभन्दा सानो सन्तान, जिम्मेवारी केही थिएन । बस्, पढ्नु, खेल्नु, खानु र रमाउनु बाहेक ।

अझ त्यसमा पनि दशैँमा पढ्नु नपर्ने महिनौँ दिनसम्म खेले मात्रै पुग्ने । अनि खुसीको सीमा नै रहँदैनथ्यो । सानो भाई र मेरो काम हुन्थ्योँ गाउँभरि हालेका पिङमा पुग्ने, खेल्ने, दौडने । त्यो दशैँ र अहिलेको दशैँमा म आकाश र जमिनको फरक पाउँछु । अचेलको दशैँले खुसी र उत्साह भन्दा बढी जिम्मेवारी र दायित्व थपिदिएको अनुभूति हुन्छ ।

पहाडको गाउँ भएपनि हाम्रो घर सुगममा थियो । राजधानीबाट नजिक अनि गाउँ पनि तराईजस्तो सम्म । सोह्र श्राद्ध सकिन लाग्दा हाम्रो गाउँघरमा दशैँको रौनक सुरु हुन्थ्योँ । आमाहरु दुनाटपरी, माटो र खाद्यान्नको तयारीमा जुट्नु हुन्थ्योँ भने बुवाहरु बजारसम्म गएर सामान लिएर आउनुहुन्थ्योँ । हामीलाई बुवाले लुगा ल्याईदिएपछि दशैँ आउँथ्यो । खुब खुसी हुन्थ्यौँ हामी । त्यत्तिबेला हाम्रो काँधमा केही जिम्मेवारी थिएन । बुवालाई सामान ल्याईदिन अनुरोध गरे पुग्थ्योँ । बुवाले कति दुखले दशैँको जोहो गर्नुहुन्थ्योँ भन्ने बल्ल अनुभूति हुन्छ ।

असोजको महिना लाग्ने बित्तिकै कताकता रमाईलो अनुभूति हुन्थ्योँ । सहर बजारमा सधैँ उस्तै भिडभाड भएपनि गाउँमा भने झुल्न लागेको धानको बाला, हिलो सुकेको बाटो र घमाईलो मौसमले दशैँ आएको संकेत दिन्थेँ । बारिभरि काँक्रा, घिरौला, बोडी, फर्सी फलेका हुन्थेँ भने तल बेसीँमा रोपेको धान पहेलपुर देखिन थाल्दा रमाईलो अनुभूति हुन्थ्योँ । अनि हामी गाउँघरमा केटाकेटी सबै जम्मा भएर वन, पाखा र चहुँर चहार्न थाल्थ्यौँ । अम्बा, नास्पाती र वनवनमा डुलेर खानेकुरा खोज्थ्योँ, खान्थ्यौँ खुब रमाईलो हुन्थ्योँ ।
घरमा सानो भनेको भाई र म । दुईजनामा घटस्थापनाको दिन माटो लिन जाने विषयमा खुब झगडा हुन्थ्योँ । अनि पछि दुवै जना घर भन्दा अलि तल गएर माटो लिएर आउँथ्यौँ बुवाले जमरा राख्नुहुन्थ्योँ । हामी चिया र खाजा खाएर खेल्न कुदिसक्थ्यौँ । गाउँ भन्दा तल डाडो थियो, जहाँबाट तल बेसीँ फाँटमा बस गुडेको, मानिसहरुको आवतजावत भएको देख्न सकिन्थ्योँ । हामी त्यहीँ बसेर दशैँ मनाउन को को आए भनेर हेथ्र्यो । अनि पछि एक पोल्टो अम्बा टिपेर घर फर्किन्थ्यौँ । त्यो रौनक, त्यो अनुभूति म अहिलेपनि खोज्छु, तर अहिले त्यो समय छैन, तर यादहरुले भने उहीँ समय, उहीँ अवस्था पुर्नताजगी गराएर जान्छन्।

दशैँ सुरु भएपछि हाम्रो गाउँघरमा घर पोत्ने रातो माटो, घरको बाहिर रंग्याउने सेतो माटो खोज्न डाडाकाँडा तिर जानुपथ्र्यो । कोही सेतो माटोको खोजीमा कोही रातो माटोको खोजीमा जान्थेँ । अनि म पनि आमाको फरियाको फेर समाउँदै दोडन्थेँ, म पनि माटो लिन जान्छु भन्दै । गाउँभरिका मानिसहरु दशैँको तयारीमा जुटेको देख्दा झनै रमाईलो लाग्थ्योँ । माटो लिने ठाउँमा मेरै उमेरका अरु साथीहरु पनि गएका हुन्थेँ ।

उनीहरुसँग दशैँमा के के गर्ने, के लुगा किन्ने, कहाँ कहाँ जाने सबै कुरामा छलफल हुन्थ्योँ । अनि म फुरुंङ पर्दै आमाले उठाईदिनुभएको धोक्राको अलिकति माटो बोकेर घरतिर कुद्थेँ । अहिले पनि लाग्छ, त्यत्तिबेला सानो कुरामै हाम्रो ठूलो खुसी लुकेको थियो, खुसी हुन कुनै कारण नै नचाहिने बिनाकारण नै फुरुङ्ग हामी ।

त्यसपछि, आमाहरु दशैँमा सेल पकाउने पीठोको तयारीमा जुट्नु हून्थ्योँ । चिउरा भिजाएर कुट्ने तयारी हुन्थ्योँ । चिउरा कुट्ने मिल नजिक नुहँदा गाउँभरिकै मानिसहरु २ घण्टा बढी हिँडेर चिउरा कुटेर ल्याउँथे । कुरुकुरुम गर्ने, धोक्रा बाहिरबाटै बास्ना आउने चिउरा अचेल सहरबजारमा पाईन छाडेको छ ।

अनि सबैले घर पोत्न रंग्याउन थाल्थेँ । कोहीले सहरबजारबाट चुन किनेर ल्याउँथे त कोही डाडातिर पाईने कमेरो ल्याएर घर रंग्याउँथे । काठमाडौं बसेका दाईदिदीहरु गाउँ फर्किन्थेँ अनि घर सरसफाई, दशैँको तयारीमा जुट्थेँ । वर्षोसम्म गाउँ नआएकाहरु ठूला ठूला झोला बोकेर गाउँ फर्किन्थेँ । अनि हाम्रो गाउँलाई साँच्चै दशैँ लाग्थ्योँ ।

फूलपातीको दिनभएपछि गाउँको नजिकै रहेको ठूलो रुखमा बाँवियोको पिङ हाल्ने तयारी सुरु हुन्थ्योँ । गाउँका बुढापाखा र युवाहरु जुटेर बावियोँ बाँट्थे अनि पिङ हाल्थेँ । अनि हामी भुरापाटीको उद्देश्य पिङ्ग खेल्नु बाहेक केही हुँदैनथ्योँ । रातिसम्म पनि पिङ खेल्थ्यौँ । साथीहरुसँग पालोको निहुँमा झगडा पनि पथ्र्यो । पिङ भएको ठाउँमा मानिसको खुब भिडभाड हुन्थ्योँ । यसरी समग्रमा दशैँ खुब रमाईलो हुन्थ्यो ।

अझ केटी मान्छेको लागि त दशैँको नवमीको दिन नवदुर्गा बनाएर पूजा गर्ने चलन हुन्थ्योँ । महिनावारी नभएका छोरी मान्छेहरुलाई पूजा गरेर पैसा दिने चलन थियो । म पनि गाउँघरमा त्यसमा सहभागी हुन्थेँ अनि आफूले पैसा पाएपछि भाईलाई गिज्याउँदै पसलतिर कुद्थेँ । एक मुठ्ठी चकलेट किनेर ल्याएर भाईलाई एउटा दिन्थेँ अनि बाँकी आफैँ खाएर खुसी हुन्थेँ । त्यसको भोपलपल्ट टीका । बावाले ल्याईदिनुभएको लुगा पटकपटक लगाईसकेको हुन्थेँ । अनि दशैँको दिन त झन् बिहानै देखि त्यहीँ कपडा लगाएर पिङ खेल्न जान्थेँ । अनि टीकाको साईत भएपछि टीका लगाएर खाना खान्थेँ ।

अनि सुरु हुन्थ्योँ, गाउँभरि टीका लगाउन जाने काम । हाम्रो परिवार ठूलो भएकाले ५० घर जतिमा टीका लगाउन जानुपथ्र्यो । अनि, छोरी मान्छेलाई सबैले पैसा दिने हुँदा मेरो सानो पर्स २ र ५ का नोटले भरिन्थेँ । भाई भने कसैले पैसा नदिएको भन्दै झगडा गथ्र्यो । अनि, बुवाले उसलाई घरमै पैसा दिनुहुन्थ्योँ । गाउँभरि टीका लगाएर सक्किएपछि हामी फेरि पिङ खेल्ने ठाउँमै पुग्थ्यौँ । त्यो दिन भुईँ छोड्नु पर्छ भन्ने मान्यता हुँदा बुढाबुढी समेत पिङ खेल्न आउँथे ।

अनि हामी पनि एकपटक खेलेर घर फर्किन्थ्यौँ । नेपालका कतिपय ठाउँमा एकदिन मात्रै टीका लगाउने चलन भएपनि हाम्रोमा भने ५ दिनसम्म टीका लगाउन मिल्थ्योँ । अनि हामी मामाघर जान्थ्यौँ करिब ३ घण्टा बढी हिँडेर । त्यसपछि काठमाडौँमा ठूलोबुवाको घरमा । काठमाडौँ आउने विषयमा भाईको र मेरो झगडा नै पथ्र्यो । २/३ दिन काठमाडौँ बसेर फर्किएपछि भने हाम्रो दशैँ सकिन्थ्योँ । अनि गाउँभरि आएका मानिस फेरि कर्मथलो फर्किसकेका हुन्थेँ ।

मेरी आमा पहिले जस्तै काममा जुटिसक्नुहुन्थ्योँ । बा पनि गुजाराको जोहोमा लाग्नुहुन्थ्योँ । घरमा आएका पाहुना कोही हुँदैनथ्योँ अनि हामी फेरि उहीँ दैनिकीमा फर्किन्थ्यौँ । तर, दशैँले खुब रमाईलो उर्जा र शक्ति दिएर गएको अनुभूति मलाई हुन्थ्योँ ।
आजको दशैँमा न मसँग त्यो गाउँघर छ, न ती साथीसंगी छन्, न बेँसीमा लहलाएका धानका बाला देख्न पाईन्छ । भीडभाड र ब्यस्त देखिने शहर एकअर्कासँग परिचित छैन, एक अर्काको हाँसो र रोदनको पर्वाह छैन । न आत्मीयता न खुसी साटासाट, न बाल्यकालको त्यो खुसी ।

तसर्थ, पनि बाल्यकालमा आउने दशैँ र अहिले आउने दशैँमा आकाश र पातालको भिन्नता म पाउँछु । अचेल, म बुझ्छु, बाले कसरी टार्नु हुन्थ्योँ होला दशैँ । हामीलाई खुसी बनाउन कति खुसी गुमाउनु पर्यो होला भन्ने लाग्छ । तरपनि बाल्यकालमा मनाएको त्यो दशैँ सम्झिँदा पनि एक किसिमको खुसी भने मिल्छ । ती दिनमा फर्कन असम्भव भएपनि सानो कुरामै ठूलो खुसी मिल्ने दशैँ मनाउने रहर भने लागिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us