अलैँचीका बोटमै तिहार मनाउँदै ताप्लेजुङका किसान

ताप्लेजुङ। देशभर तिहारको रौनक छाएको बेला ताप्लेजुङका किसान भने बगानमै अलैँची टिप्न र सुकाउन व्यस्त छन्। जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची यतिबेला थन्क्याउने अन्तिम चरणमा पुगेको छ, जसका कारण किसानले चाडपर्वभन्दा खेतीलाई प्राथमिकता दिएका छन्।

फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका किसान खाङ्डु शेर्पा भन्छन्, “अलैँची टिप्न ढिलाइ गरे वन्यजन्तुले खाइदिन्छ, त्यसैले तिहार मनाउने फुर्सद छैन।” उहाँका अनुसार किसानहरू अहिले बगानमै तिहारका दीप बाल्दै, गीत–नृत्यभन्दा बढी अलैँचीको सुगन्धमा रमाइरहेका छन्।

असोज र कात्तिक महिना अलैँची थन्क्याउने मुख्य सिजन भएकाले यस समयमा किसानहरू बिहानदेखि साँझसम्म बगानमै खटिन्छन्। “दसैँ त घरमै मनाउन पाइयो, तर तिहार भने बगानमै बिताउँदैछौं,” फुङ्लिङ नगरपालिका–६ बिहीबारेका किसान केदार लिम्बूले बताए।

कात्तिक महिनाभर किसानहरू अलैँची टिप्ने, छोडाउने र सुकाउने कार्यमै व्यस्त हुने गर्दछन्। यसवर्ष अलैँचीको मूल्य पनि बढेकाले उनीहरूमा थप उत्साह छ। हाल ताप्लेजुङमा साधारण अलैँची प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लाका नौ स्थानीय तहअन्तर्गत ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रमा अलैँची खेती हुन्छ। हाल करिब ४,१६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ र गतवर्ष सो क्षेत्रफलबाट करिब २,५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो।

तिहारको रंगीन वातावरणबीच पनि ताप्लेजुङका किसानहरूका लागि अहिले मुख्य उत्सव भनेकै अलैँची थन्क्याउने मौसम बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *