अलैँचीको भाउ सात वर्षकै उच्च, किसान उत्साहित

झापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीले यस वर्षको सुरुआती सिजनमै सात वर्ष यताकै उच्च मूल्य पाएको छ ।

नेपालकै ठूलो अलैँची बजार बिर्तामोडमा आज प्रतिमन (४० केजी) रु. ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो निकै राम्रो भाउ हो । गत वर्ष यसै समयमा प्रतिमन रु. ४० हजारमै कारोबार भएको थियो ।”

२०७५ सालमा प्रतिमन मूल्य रु. १ लाख ५ हजारसम्म पुगेको थियो भने त्यही वर्ष मङ्सिरमा रु. १ लाख ७ हजारसम्म बढेको थियो । यसअघि २०६७ सालमा प्रतिमन रु. १ लाख २० हजारमा अलैँची बिक्री भएको र त्यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य भएको तथ्याङ्क छ ।

भदौ–असोजमा भाउ बढ्नु मङ्सिर–पुसमा अझै बढ्न सक्ने संकेत मानिन्छ । अहिलेको मूल्यवृद्धिले किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले उत्पादन गर्ने एक मन अलैँचीमा औसत रु. २० हजारसम्म लगानी गर्ने भए पनि अहिलेको भाउअनुसार उनीहरूले धेरै नाफा पाउने भएका छन् । व्यापारीहरूले भने किसानबाट अहिले खरिद गरेर भण्डारण गर्ने र मङ्सिर–पुसमा भाउ अझ बढेपछि बिक्री गरेर ठूलो नाफा कमाउने गर्छन् ।

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने भए पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम प्रमुख उत्पादक जिल्ला मानिन्छन् । कोशी प्रदेशमा मात्रै करिब ७,५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका हुँदै रु. ७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपालमा उत्पादित अलैँचीको करिब ९० प्रतिशत भारत निर्यात हुने गरेको छ । त्यहाँ पुगेपछि भारतीय बजारबाट ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पठाइने भए पनि नेपाली अलैँचीले अझै प्रत्यक्ष अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न नसकेको व्यापारीहरूको भनाइ छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *