इलाम । चिया बगानमा श्रमिकको तीव्र कमीले इलामका किसान र युवालाई प्रविधितर्फ मोडेको छ। आवश्यक संख्यामा कामदार नपाएपछि किसानले पछिल्ला वर्षहरूमा पेट्रोल र ब्याट्री दुवै प्रकारका चिया टिप्ने मेसिनलाई विकल्पको रूपमा अपनाउँदै छन्।
सूर्योदय नगरपालिकाका किसान दिनेश श्रेष्ठका अनुसार मेसिनले दैनिक ११ जना मानिसले टिप्ने जति चिया सजिलै टिप्न सक्छ। “दुई जनाले मेसिन चलाउँदा धेरै काम हुन्छ, खर्च पनि कम पर्छ,” उनी भन्छन्, “श्रमिक नहुँदा पात हुर्केर नोक्सान हुने अवस्था आएको थियो, अब मेसिनले सजिलो बनाएको छ।”
युवाहरूलाई पनि मेसिनले गाउँमै रोजगारीको अवसर दिएको छ। माईजोगमाई गाउँपालिकाका निर्मल काफ्ले दैनिक २५० देखि ३०० किलो चिया मेसिनले टिप्ने अनुभव सुनाउँछन्। “गाउँमा काम गर्ने शक्ति छैन, विदेश नगई यहाँ पनि राम्रो आम्दानी सम्भव रहेछ,” काफ्लेले बताए।
पहिला पेट्रोलचालित भए पनि अहिले चार्ज हुने ब्याट्री मेसिनको प्रयोग बढ्दै गएको किसानको भनाइ छ। स्थानीय सरकारले लागत साझेदारीमा मेसिन उपलब्ध गराउन थालेपछि किसान थप उत्साहित छन्। सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईका अनुसार चिया खेतीमा प्रविधि प्रयोग बढाउन मेसिन अनुदान नीति अघि सारिएको हो।
यद्यपि तेस्रो मुलुक निर्यात हुने उच्च गुणस्तरीय चिया भने अझै हातैले टिपिएको पातबाट बनाइन्छ। तर श्रमिकको तीव्र अभावले धेरै बगानमा चिया नटिपेर बस्नुपर्ने अवस्था देखिएको चिया उद्योगीको भनाइ छ।