जङ्गली धानको संरक्षणमा अग्रसर बाँकेका पुरमल

खजुरा। बाँके कोहलपुर नगरपालिका–१० का कीट संरक्षण अभियन्ता तथा सामुदायिक जीन बैंक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेत जिल्लामा पाइने जङ्गली धानको संरक्षण र प्रवर्धनमा सक्रिय भएका छन्।

बस्नेतका अनुसार जङ्गली धान पानी जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डमा पाइन्छ, विशेषगरी बाँके र तराईका अन्य जिल्लामा यसको उपस्थिति देखिन्छ। हाल कोहलपुर क्षेत्रमा करिब एक बिघा जमिनमा यो धान भेटिएको छ।

“पहिले छाडा गाईबस्तुले खाइदिने र घाँस काट्ने गर्दा हराउँदै गएको यो धान अहिले नगरले गाईबस्तु व्यवस्थापन गरेपछि र घाँस नकट्दा प्रशस्तै देखिन थालेको छ,” बस्नेतले भने। चराले बिउ नष्ट गर्न सक्ने भएकाले उनले झुलले बाला बाँधेर सुरक्षित राखेका छन्।

उनी यसका लागि स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रदेश सरकारदेखि नार्कसम्म सरोकारवालालाई जानकारी गराइसकेका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय जीन बैङ्कका प्रमुख डा. बालकृष्ण जोशीका अनुसार नेपालमा हालसम्म पाँचवटा जङ्गली धान प्रजातिको पहिचान भइसकेको छ। उनले भने, “जङ्गली धान नेपालमै धानको उत्पत्ति भएको पुष्टि गर्ने महत्वपूर्ण प्रमाण हो।”

डा. जोशीले जङ्गली धान संरक्षणसँगै यसलाई खेती हुने धानसँग क्रसिङ गरेर उत्पादन वृद्धि गर्न सकिने सम्भावना रहेको बताए। उनका अनुसार विश्वभर करिब २२ वटा जङ्गली धान प्रजाति पत्ता लागिसके पनि नेपालमा पाँचवटा मात्रै भेटिएका छन्।

समुदायस्तरमै तालतलैया र जलीय क्षेत्रको संरक्षण गरेर मात्र जङ्गली धानलाई सुरक्षित गर्न सकिने विज्ञहरूको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *