काठमाडौँ । नेपालमा उत्पादित केराले आगामी दशैं, तिहार र छठ पर्वको माग धान्न पर्याप्त भएको भन्दै केरा व्यवसायीहरूले विदेशी केरा आयात तत्काल रोक्न सार्वजनिक अपिल गरेका छन्।
नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तका अनुसार अहिले देशभर केरा उत्पादन उत्साहजनक छ र चाडपर्वलाई नेपाली उत्पादनले नै सहजै पुरा गर्न सक्ने भएकाले आयात नगर्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको हो।
महासङ्घले देशव्यापी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई सम्बोधन गर्दै पत्राचारमार्फत आयात रोक्न आग्रह गरेको छ। उक्त अनुरोधपत्रमा “विद्यमान अवस्थामा नेपालको उत्पादनले नै दशैं, तिहार र छठसम्मको सम्पूर्ण माग थेग्न सक्ने अवस्था रहँदा पनि विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको” उल्लेख गरिएको छ।
अनुरोधपत्रमा थप भनिएको छ, “यसो हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा र रोजगारीमा प्रत्यक्ष असर पर्नुका साथै व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुने खतरा छ। सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने अवस्था देखिँदैछ।”
महासङ्घले देशभरका सम्बन्धित व्यापारीलाई समन्वय र छलफलमार्फत असोज ६ गतेपछि भारतबाट केरा आयात नगर्न वा नगराउन विशेष अनुरोध गरेको छ। साथै, “यदि बलजफ्ती आयात गरिएमा त्यसबाट हुने सम्भावित क्षतिको जिम्मेवारी महासङ्घले लिने छैन” भन्ने चेतावनीसमेत पत्रमा समावेश छ।
यो संयुक्त सूचना चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहितका हस्ताक्षरमा जारी गरिएको हो।