बौद्धमा रोपाई जात्रा धुमधामसहित सम्पन्न: सांस्कृतिक झाँकीदेखि लाखे नाचसम्म

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा सोमबार परम्परागत रोपाई जात्रा सांस्कृतिक धुमधामसहित सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट आयोजना गरिने यो जात्रा प्रताप मल्लको शासनकालदेखि निरन्तरता पाउँदै आएको हो।

यस वर्षको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु भई परिक्रमा गर्दै पिपलबोटदेखि टुसालसम्म रंगीन झाँकीसहितको यात्रा सम्पन्न भयो। खेतमा हिलो छ्याप्ने परम्पराको प्रतीक स्वरूप सहभागीहरूले रङ दली, सांस्कृतिक पोशाक र अभिनयमार्फत रोपाहार र बाउसेको दृश्य प्रदर्शन गरे।

रोपाई जात्रालाई किसानहरूको परिश्रमपछिको मनोरञ्जन र व्यङ्ग्यको माध्यमका रूपमा पनि हेर्ने गरिन्छ। यस अवसरमा बौद्धनाथ क्षेत्र विकास समिति लगायतका संस्थाले विभिन्न पुरस्कार वितरण समारोह आयोजना गरे।

तामाङ, शेर्पा, गुरुङ, नेवार लगायतका समुदायको उत्साहजनक सहभागिता रह्यो। धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोगजस्ता तत्वहरूले यसलाई तान्त्रिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको अनूठो पर्व बनाएको संस्कृतिविद्हरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *