वीरगञ्ज । मधेस प्रदेशमा यस वर्ष धान उत्पादन करिब २० प्रतिशतले घट्ने अनुमान गरिएको छ । धान रोपाइँको समयमा परेको सुक्खायाम र भित्र्याउने बेलामा परेको अवाञ्छित वर्षाले उत्पादनमा ठुलो असर पारेको कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशले जनाएको छ ।
प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले प्रतिकूल मौसमी अवस्थाका कारण उत्पादनमा गिरावट आउने प्रारम्भिक तथ्याङ्क देखिएको जानकारी दिए ।
उनका अनुसार, धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ प्रतिशत भूभागमा रोपाइँ हुनै सकेन, जसले उत्पादन घट्न मुख्य भूमिका खेलेको छ । भित्र्याउने समयमा परेको अविरल वर्षाले बालीमा थप क्षति पुर्याएको उनले बताए ।
निर्देशनालयका तथ्याङ्कअनुसार मधेस प्रदेशमा सामान्यतया करिब १३ लाख मेट्रिकटन धान उत्पादन हुने गर्दछ । तर यस वर्ष उत्पादन घटेर १० लाख मेट्रिकटनको हाराहारीमा सीमित हुने अनुमान गरिएको छ ।
प्रदेशका आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमध्ये ८७ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
यसैबीच, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि र दक्ष जनशक्ति विकासमार्फत उत्पादनवृद्धिमा जोड दिइरहेको बताए ।
“प्रदेश सरकारको प्राथमिकता अब कृषि आधुनिकीकरण र प्रविधिको उच्चतम प्रयोगमा केन्द्रित छ,” उनले भने, “प्राविधिक दक्षता बढाएर कृषकलाई नयाँ प्रविधिसँग जोड्ने प्रयास भइरहेको छ ।”
त्यस्तै, कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशका प्रमुख विश्वेरप्रसाद यादवले कृषि प्राविधिकको क्षमता अभिवृद्धि र लागत घटाउने उद्देश्यले यस्ता कार्यशाला गोष्ठी निरन्तर आयोजना गर्दै आएको बताए ।
उनका अनुसार, “यी कार्यक्रमहरूले अनुसन्धान र प्रविधिलाई कृषकसम्म पु-याउने प्रभावकारी माध्यमको रूपमा काम गरिरहेका छन् ।”
यसरी, सुक्खायाम र असमय वर्षाको दोहोरो प्रहारका बीच पनि प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रविधिमैत्री र उत्पादकत्वमुखी बनाउन रणनीतिक प्रयास जारी राखेको जनाएको छ ।
