साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका

राधाकृष्ण डुम्रे

स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उहाँको भनाइ छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरूको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उहाँको भनाइ छ ।

कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहाने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल,नगरप्रवक्ता तथा वडाध्यक्ष दिपेन्द्र केसी,दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे,वित्तिय अधिकृत अम्बिका पौडेल लगायतले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो।

परियोजनाले बैँकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम पालिकाको नौवटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *