हरियाली अभियान: बागलुङका एक युवाद्वारा विद्यार्थी र किसानलाई फलफूलका बिरुवा वितरण

बागलुङ । बागलुङका एक युवाले विद्यालयका विद्यार्थी र किसानको घरदैलोमै पुगेर फलफूलका बिरुवा वितरण अभियान सञ्चालन गर्दै आएका छन्।

दक्षिण बागलुङको जैमिनी नगरपालिका–२ का सुजन सापकोटाले विद्यार्थीलाई घरमा बिरुवा रोप्ने तरिका सिकाउँदै किसानलाई आवश्यकता अनुसार बिरुवा वितरण गर्ने कार्य तीन वर्षदेखि निरन्तर गर्दै आएका हुन्।

कृषि विषयमा स्नातकोत्तर गरेका सापकोटाले ‘उत्पादनमुखि र हरियाली बागलुङ अभियान’ नारासहित अहिलेसम्म १२ हजारभन्दा बढी बिरुवा वितरण गरिसकेका छन्। यस वर्ष मात्रै उनले २० वटा विद्यालय र १९ वटा वडामा चार हजारभन्दा बढी बिरुवा वितरण गर्ने लक्ष्य बनाएका छन्।

सुन्तला, कागती, टिमुर, किवी, श्रीखण्ड, केरा लगायतका बिरुवा उनले निःशुल्क वितरण गर्दै आएका छन्। स्थानीय माटो र हावापानीलाई ध्यानमा राखेर बिरुवा छनोट गर्ने र बिरुवामा रोग किरा लागेमा उपचारबारे जानकारी दिनेसमेत गरेको सापकोटाले बताए।

हालसम्म सल्यान र रुकुमका नर्सरीबाट बिरुवा खरिद गरी वितरण गर्दै आएका उनले निकट भविष्यमा आफ्नै नर्सरी स्थापनाको योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *