ओखलढुङ्गामा अकबरे खुर्सानीमा रोग–किरा प्रकोप: किसान चिन्तित

ओखलढुङ्गा । जिल्लाका मोलुङ र सिद्धिचरणका किसानहरूले लगाएका अकबरे खुर्सानीमा ‘एन्थ्राक्नोज’ रोग र फल कुहाउने किराको संक्रमण फैलिएपछि ठूलो आर्थिक क्षति हुने डर देखिएको छ। करिब ४६ हेक्टर क्षेत्रमा फैलिएको यो महामारीले उत्पादनमा ३० प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान गरिएको छ।

ओखलढुङ्गामा व्यावसायिक तरिकाले लगाइएका अकबरे खुर्सानीमा रोग–किराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा यस वर्ष करिब २३० मेट्रिक टन खुर्सानी उत्पादन हुने अनुमान भए पनि रोग–किराका कारण ठूलो हिस्सा नष्ट हुन सक्ने स्थिति छ।

विगत नौ वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आएका मोलुङ गाउँपालिका –८ खरिडाँडाका गोविन्द राईले २५ रोपनीमा खेती गरेका थिए। मल, बिरुवा, ड्याङ र प्लास्टिकसहित करिब १० लाख रुपियाँ लगानी गरे पनि अधिकांश बाली रोगका कारण नष्ट भएको राईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–
“केही मात्र बचाएको छु, बाँकी सबै रोगले मारेको छ।”

उहाँसँगै अन्य तीन जना किसानले पनि ठूलो लगानीसहित खुर्सानी खेती गरेका थिए, तर रोग–किराले सबै बाली नष्ट गरेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, बाली बीमा गराएका किसानले ९० प्रतिशतसम्म क्षतिपूर्ति पाउन सक्छन्। तर अधिकांश किसानले बीमा नगरेका कारण राहत पाउने स्थिति छैन।

हालसम्म कृषि कार्यालयले खुर्सानीमा लागेको रोग–किराको प्रकोपबारे स्पष्ट निर्देशन वा उपचार उपाय सार्वजनिक गरेको छैन । विशेषज्ञहरूले भने रोग–किराको निगरानी, उचित बाली व्यवस्थापन र समयमै कीटनाशक प्रयोग गर्न सुझाव दिएका छन्, ताकि आगामी बालीमा नोक्सानी न्यून गर्न सकियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *