काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरू भएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे । यस अवधिमा विगत लामो समय देखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको उनले बताए ।
त्यस्तै रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको अधिकारीले बताए ।
उनले कृषि क्षेत्रको एकीकृत कानुनको रूपमा रहेको कृषि विधेयक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको जानकारी दिए ।
मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सम्बन्धी अध्ययन गरी पूर्नसंरचना एवं व्यवसायीक सुधारका लागि २३ बूँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ । चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजिकरण सम्बन्धी कार्य गरिएको बताए ।
चालु आर्थिक वर्षमा बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली/वस्तुहरूको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारेको अधिकारीले बताए ।