चाँदनी आचार्य
कैलाली । वडा तहमै आफूले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि भवन निर्माण भएपछि कृषक उत्साहित बनेका छन्। कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा कृषि उपज सङ्कलन केन्द्रको रुपमा भवन चालु आर्थिक वर्षमा निर्माण भएको हो ।
पछिल्लो समय व्यवसायी तरकारी फलफूल खेती गर्ने किसानलाई उक्त सङ्कलन केन्द्रले सहयोग पुग्ने अपेक्षा लिइएको छ । वडा नम्बर ३ का फूलकुमारी चौधरीले व्यवसायीक तरकारी खेती गर्दै आएको र आफ्नो उत्पादनलाई हाटबजारमा बेच्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कहिलेकाहीँ बढी भएको तरकारी कहाँ लगेर राख्ने भन्ने समस्या हुन्छ । सङ्कलन केन्द्रमा जम्मा गरेरमात्र हुँदैन । त्यहाँबाट बिक्री वितरणमा पनि सहयोग हुनुपर्छ ।”
स्थानीय रामचन्द्र चौधरी व्यावसायिक तरकारी खेती गर्ने कृषक हुनुहुन्छ । उहाँले उत्पादन गरेको तरकारी हाटबजारमा लगेर बेच्नुहुन्छ । उहाँले उत्पादन गरेको सबै एकै ठाउँमा सङ्कलन गरेर बेच्ने वातावरण भए पछि व्यावसायिक खेतीलाई बढाउने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कैलालीले उक्त भवन निर्माणमा सहयोग गरेको हो । करिब २० लाख रुपियाँ अनुदान सहयोगमा कृषी उपज सङ्कलन केन्द्रको रुपमा भवन निर्माणसँगै गाउँ गाउँबाट उत्पादन हुने तरकारी सङ्कलनमा सहज हुने जनाइएको छ ।
घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरीले कृषि उपज सङ्कलन केन्द्रमा गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने बताउनुभयो । कृषि उपज सङ्कलन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उहाँको आग्रह छ ।
घोडाघोडी नगरपालिकाका कृषि शाखा प्रमुख जनक धामीले किसानले उत्पादन गरेका उपजहरु सङ्कलनका लागि वडा वडामा यस्ता गोदामहरु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडामा सङ्कलन केन्द्रको आवश्यक छ । किसानले उत्पादन गरेका वस्तु्लाई एकै ठाउँमा जम्मा गर्न र विक्री वितरणमा सहयोग पुग्नेछ ।”