खोटाङमा व्यावसायिक राँगापालन: किसान स्वरोजगार र आत्मनिर्भरता तर्फ अग्रसर

खोटाङ। अब बिहान जङ्गलमा राँगा छोड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने कार्य खोटाङका कृषकहरूको दैनिकी मात्र नभई व्यावसायिक रोजगारी बन्न थालेको छ। सामूहिक रूपमा व्यावसायिक राँगापालन सुरु गरेको “चारसले दाप्सा कृषक समूह”सँग अहिले राँगा र पाडी गरी २४ वटा छन्।

दिनभरि जङ्गलमा चराएर राँगाभैँसी पालन गर्ने कृषकहरू हिउँदको लागि घाँसको जोहो पनि गरिरहेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा सुरु गरिएको यस कार्यक्रमअनुसार कृषकहरूले राँगाको मासुमा आत्मनिर्भर बन्न पाइरहेका छन्।

पहिले दूधका लागि मात्र भैँसी पालन हुने खोटाङमा हालसम्म मासुका लागि व्यावसायिक रूपमा राँगा पालन गरिएको थिएन। अहिले भने केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत रूपमा राँगापालन शुरू भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा नगरपालिकाले करिब ६२ लाख बराबरका चारसय उन्नत जातका राँगा खरिद गरेर कृषकहरूलाई वितरण गरेको थियो। नगरपालिकाबाट प्राप्त राँगा “चारसले दाप्सा कृषक समूह”ले सामूहिक रूपमा पालन गर्दै आएको छ। तराईबाट ल्याएका केही राँगा मरेपछि अहिले स्थानीय गाउँघरबाट खरिद गरेर २४ वटा राँगाभैँसी बनाईएको समूहका अध्यक्ष रामकुमार राईले जानकारी दिनुभयो।

खाल्ले, लफ्याङ, विजयखर्क लगायतका क्षेत्रमा नगरपालिकाले वितरण गरेको राँगा सामूहिक रूपमा पालन भइरहेको छ भने धेरै ठाउँमा व्यक्तिगत तर व्यावसायिक रूपमा पालन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले बताउनुभयो।

उपमेयर राईले भन्नुभयो, “हाम्रो क्षेत्र अत्यधिक जङ्गलले ढाकिएको छ, जहाँ घाँस खेर जान्छ। यसैलाई उपयोग गर्दै नगरपालिकाले पशु प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ। अघिल्लो वर्ष चारसय राँगा वितरण गरेका छौँ। अहिले किसानहरूले पालन गरिरहेका राँगाको मूल्य ३० हजारदेखि ६० हजारसम्म पुगिसकेको छ। हामी पशु प्रवर्धन कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लानेछौँ।”

अघिल्लो आर्थिक वर्ष नगरपालिकाले तराईका फार्मबाट खरिद गरेका उन्नत जातका राँगा कृषक समूह मार्फत वितरण गरेको थियो। तराईबाट ल्याइएका केही राँगा मरेपछि किसानहरू चिन्तित भए, तर गाउँघरबाट खरिद गरेर राँगाभैँसी पालनलाई निरन्तरता दिएको अध्यक्ष रामकुमारले बताउनुभयो। तीन महिनाअघि ३० हजारमा खरिद भएका राँगाहरू अहिले ४५ हजारसम्मको मूल्यमा पुगेको छ।

वर्षा र बर्खाको समयमा जङ्गलमा प्रशस्त चरन क्षेत्र भएकाले घाँसको पर्याप्त उपलब्धता छ। हिउँदमा सुख्खा हुने भएकाले घाँसको जोहो अहिले सुरु गरिएको छ। अध्यक्ष रामकुमारले आगामी दिनमा अन्य जङ्गल छेउमा गोठ निर्माण गरेर राँगाभैँसी थप्ने योजना रहेको पनि जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *