छठ पर्वले जनकपुरमा केराको बजार ततायो : मूल्य र माग दुबैमा वृद्धि

धनुषा । छठ पर्व सुरु हुनासाथ जनकपुरधामसहित धनुषा जिल्लाका बजारहरूमा केराको माग अत्यधिक रूपमा बढेको छ । सूर्य उपासना गर्ने यो पर्वमा मुख्य प्रसादका रूपमा प्रयोग हुने केरा अहिले बजारमा सबैभन्दा बढी खोजिएको फल बनेको छ ।

फलफूल व्यवसायीहरूका अनुसार छठ पर्व नजिकिँदै गर्दा केराको कारोबार ह्वात्तै बढेको छ । जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर र लक्ष्मीनियाँलगायतका बजारमा बिहानदेखि बेलुकीसम्म केरा खरिद गर्ने ग्राहकहरूको भीड लागेको छ ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि छठ पर्वका लागि केराको ठूलो परिमाण भारत र अन्य जिल्लाबाट आयात गरिएको छ । “व्यापारीहरूले यस वर्ष पर्याप्त मात्रामा केरा भण्डारण गरेका छन्, त्यसैले अभावको समस्या नहुनेछ,” यादवले बताए ।

तर माग बढेसँगै मूल्यमा भने उल्लेखनीय वृद्धि भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ का व्यापारी रमेश गुप्ताका अनुसार अहिले केराको प्रतिघरी मूल्य रु ६०० देखि एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।

मधेसी राजधानी जनकपुरधाममा भारतका आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा आयात गरिएको छ भने सप्तरीको भारदह, भान्टाबारी र इनरुवाबाट गोपाल र वंशीभोग जातका केरा भित्र्याइएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहका अनुसार यस वर्ष मात्रै जनकपुर क्षेत्रमा झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ । एक ट्रकमा करिब १२०० घरी केरा आउँछ र प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको लागत झण्डै ६ लाख रुपैयाँ पर्छ ।

नेपालमा पनि झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केरा उत्पादन हुँदै आए पनि प्राविधिक र उत्पादन व्यवस्थापनका समस्याका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ ।

छठ पर्व मनाउनेहरूको संख्या वर्षेनि बढ्दै जाँदा केराको बजार पनि उत्तिकै तातो बन्दै गएको छ । यस वर्षको छठले जनकपुरधाम र आसपासका बजारमा केरा व्यवसायीका अनुहारमा खुशी ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *