जडीबुटी खेतीबाट वर्षमा सात लाखसम्म कमाउँदै वडाध्यक्ष शेर्पा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा जनप्रतिनिधि मात्र होइन, सफल कृषकका रूपमा पनि उदाहरणीय बन्नुभएको छ । उहाँले जनताको सेवासँगै जडीबुटी खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाउँदै वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

२२ वर्षअघि सुरु गरिएको जडीबुटी खेती अहिले बहुउद्देश्यीय नर्सरीका रूपमा विस्तार भएको छ । तीनतले क्षेत्रको करिब ६० ड्याङमा चिराइतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतका बाली खेती गर्दै आउनुभएको छ । गत वर्ष मात्रै उहाँले १२ मन (४८० किलो) चिराइतो बिक्री गर्नुभएको थियो ।

“जनताको सेवाबाट बाँकी समय जडीबुटीमा खर्च गर्छु, यसबाट अन्य बालीभन्दा दोब्बर आम्दानी हुन्छ,” शेर्पाले बताउनुभयो । उहाँका अनुसार दश हजार रुपैयाँको अन्य बाली उत्पादन हुने जमिनमा जडीबुटी लगाउँदा ५० हजारसम्म आम्दानी लिन सकिन्छ ।

शेर्पाको फर्मले सतुवाको बिरुवा, चिराइतोका बोट, बीउ, पात र ढुट्टो बिक्री गर्दै आएको छ । उत्पादनको बजारमा समस्या नभएको बताउँदै उहाँले भने, “खरिदका लागि ठेकेदार घरमै आउँछन् । हाम्रो क्षेत्रमा प्रायः सबै किसानले जडीबुटी खेती गर्छन्, वार्षिक दुई लाखदेखि दश लाखसम्म कमाइ हुने गर्छ ।”

वडाध्यक्ष शेर्पाले सिकेको सीप नयाँ किसानसँग बाँड्दै आउनुभएको छ । उहाँको पहलमा क्षेत्रलाई जडीबुटीको ‘पकेट क्षेत्र’ घोषणा गरिएको छ । उहाँको फर्ममा उत्पादन भएका बिरुवा बाह्य जिल्लासमेत पठाइने गरिएको छ ।

राजनीतिक जिम्मेवारीसँगै कृषि उद्यममा पनि सक्रिय रहनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जनप्रतिनिधि भए पनि आर्थिक सबलता पेसा र व्यवसायबाटै आउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *