झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमै किसानलाई दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरिसकेको छ। कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार वितरण गरिएको मलमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी रहेका छन्।
स्थानीय सहकारी संस्था र कृषि समूहमार्फत वितरण गरिएको मल धानखेतीका लागि मुख्य रूपमा प्रयोग भएको छ। साउनदेखि हालसम्म धान खेतका लागि मात्रै १ हजार ३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी किसानलाई बिक्री भइसकेको उनले बताए। चिया खेतीका लागि पनि ५० मेट्रिक टन युरिया आपूर्ति गरिएको छ।
धानखेतीका लागि पालिकाहरुले १४० सहकारी र कृषि संस्थालाई अधिकृत विक्रेता सिफारिस गरेका छन्। पहिलो चरणमा प्राप्त डिएपी मलमध्ये हाल २२८ मेट्रिक टन कार्यालयमा मौज्दात छ।
यस्तै, चिया खेतीका लागि छुट्याइएको मलमध्ये ६०० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन डिएपी अझै गोदाममा रहेको कार्यालयले जनाएको छ। चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी र संस्थालाई मात्रै रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको प्रमुख न्यौपानेले बताए।