तनहुँका किसानलाई रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसारसैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिनुभयो । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढदो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।

कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हामो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ । तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ । यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ । यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ ।” सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।

यसैबीच ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका–१ कुन्छाली टोलका किसानलाई आइपिएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आइपिएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।”

बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो । “सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ”, उहाँले भन्नुभयो ।

किसान आनन्द भुजेल घर्तीले भन्नुभयो, “हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।” वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आइपिएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उहाँले बताउनुभयो ।

कृषक रीता घर्तीले अञ्जानमै हामीले विषादी खाएको तालिमकै क्रममा थाहा पायौँ, जसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताउनुभयो । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उहाँले बताउनुभयो । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताउनुभयो ।

कृषिले सचेतनाका कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । अधिक उत्पादन गर्ने लक्ष्यले आफैँलाई नै रोगी बनाएको अवस्थामा यस्ता सचेतनाका प्रशिक्षण उपयुक्त र प्रभावकारी रहेको छ । जसलाई तीन तहका सरकारले मध्यनजर गरी प्राथमिकता दिनुपर्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *