तीजमा गुल्मीमा ‘जुम्ली स्याउ’ : उपभोक्ताबीच खोसाखोस

रेसुङ्गा। तीजको अवसरमा गुल्मी तम्घास बजारमा जुम्ली स्याउको रौनक छ। जुम्लाका व्यापारी जगतबहादुर शाही, लक्ष्मीकान्त आचार्य, मनिषचन्द्र र विष्णुरुद्र आचार्य मिलेर करिब ५० क्विन्टल अर्गानिक स्याउ बजारमा पुर्‍याएका छन्।

सटर भाडामा लिएर बिक्री गर्दै आएका उनीहरूले गल्ली–गल्ली बोकेर समेत उपभोक्तासम्म स्याउ पुर्‍याइरहेका छन्। विषादीरहित स्वादिष्ट स्याउ भएकाले दिदीबहिनीहरूले तीजको पाहुरमै राखेर माइतसम्म पठाएका छन्।

गत वर्ष ६० क्विन्टल स्याउ बिक्री गरेका व्यवसायीहरूले यसपटक ५० क्विन्टल ल्याएका छन्। प्रति किलो २२० देखि २५० रुपैयाँमा बिक्री भइरहेको स्याउ गत वर्षभन्दा करिब ४५ रुपैयाँ महँगो भएको व्यापारीहरूको भनाइ छ।

व्यवसायी शाहीका अनुसार जुम्लाबाट स्याउ ल्याउँदा सडक जीर्ण भएकाले पाँच–सात क्विन्टल बिग्रने गर्छ। उनले भने, “ल्याउन गाह्रो भए पनि बेच्न सजिलो छ, जुम्ली स्याउ नबिक्ने भन्ने प्रश्न नै उठ्दैन।”

जुम्लाकै ६४ वर्षीय व्यापारी लक्ष्मीकान्त आचार्य १५ वर्षदेखि गुल्मीमा विभिन्न व्यापार गर्दै आएका छन्। पछिल्ला दुई वर्षदेखि स्याउ पनि ल्याउन थालेका उनले १५ दिनमै स्याउ सकिने बताए। चैत–वैशाखमा खेतीपातीका लागि घर जाने र बाँकी समय तम्घासमै बसेर राडीपाखी र अन्य सामान बेच्ने गरेका छन्।

स्थानीय व्यापारी कृष्ण पन्थीले जुम्ली स्याउलाई “देख्दा साधारण तर स्वादमा अनुपम” भएको बताए। उनका अनुसार बजारमा आउने अन्य स्याउ चिटिक्क देखिने भए पनि केमिकलयुक्त हुन्छन्, तर जुम्ली स्याउ पूर्ण अर्गानिक भएकाले उपभोक्ताले मन पराएका छन्।

गुल्मी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले नेपालकै उत्पादनलाई बजारमा स्थान दिलाउन स्थानीय व्यापारीहरूले सहयोग गर्दै आएको बताए। तर, उनले जुम्लेली व्यापारी आफैं ढुवानी खर्च र बजार मूल्य नपाउँदा समस्यामा परेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *