लिलाधर वली
घोराही । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १५ लाख बढी प्रोत्सान अनुदान प्रदान गरेको छ । गाईभैँसी पालनमा किसानलाई आकर्षण गर्ने उद्देश्य अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा एक सय २९ जना किसानलाई १५ लाख ४७ हजार रुपियाँ अनुदान उपलब्ध गराएको हो ।
गाउँपालिकाले तीन लाख ८६ हजार सात सय ५० लिटर दुधमा प्रतिलिटर चार रुपियाँका दरले १५ लाख ४७ हजार रुपियाँ अनुदान किसानलाई उपलब्ध गराएको राप्ती गाउँपालिकाका पशु विकास शाखा अधिकृत दामोदर आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा एक सय ५४ जना दुध उत्पादक किसानलाई १२ लाख २९ हजार पाँच सय ४० रुपियाँ अनुदान उपलव्ध गराएको थियो ।
व्यवसायिक रूपमा पशुपालन गरिरहेका किसानसँगै नयाँ पुस्तालाई पशुपालनमा आकर्षित गर्ने गरि प्रत्येक बर्ष प्रोत्साहन रकम उपलव्ध गराउने गरेको पशु विकास शाखा अधिकृत आचार्य बताउनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा किसानलाई नौ महिनामा उत्पादन भएको दुधको आधारमा १५ लाख ४७ हजार रुपियाँ अनुदान उपलब्ध गराएको हो । किसानले डेरीमा दुध बिक्री गर्ने गरेको तथ्याङ्क र किसानसँग भएको गाईभैँसीको सङ्ख्यालाई आधार बनाएर अनुदान रुपियाँ उपलब्ध गराउने गरेको बताउनुभयो ।
एक हजार बढी पशुमा कृत्रिम गर्भाधान
गाउँपालिकाले एक वर्षको अवधिमा एक हजार एक सय ७१ पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरेको छ । पशु विकास अधिकृत आचार्यका अनुसार पाँच सय ३८ वटा गाई, छ सय २५ भैँसी र आठ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको बताउनुहुन्छ । कृत्रिम गर्भाधान सेवाका लागि किसानले एक सय रुपियाँ तिनुपर्छ भने पालिकाले ती सय रुपियाँ अनुदान स्वरुप उपलब्ध गराउने गरेको छ ।
बधिया भालेमा अनुदान
यसैगरी, गाउँपालिकाले किसानलाई बधिया भाले प्रवर्धनमा अनुदान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ जना बधिया भाले पाल्ने किसानलाई दुई सय ५० वटा भालेको २५ हजार रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराएको छ । पालिकाले प्रति बधिया भाले एक सय रुपियाँका दरले अनुदान रकम उपलब्ध गराउने गरेको छ । बधिया भाले दाङको पहिचानका रूपमा रहकाले पालिकाले बधिया भाले प्रवर्धनका लागि अनुदान रकम उपलब्ध गराउने गरेको पशु विकास अधिकृत आचार्य बताउनुहुन्छ ।