दाङ। दंगीशरण गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका ६१ वटा कृषक समूहलाई कुल आठ हजार नौ सय ८० केजी गहुँको बिउ वितरण गरेको हो।
कृषि शाखा प्रमुख सरु भुसालका अनुसार किसानको मागअनुसार तीन लाख ६८ हजार एक सय ८० रुपैयाँ बराबरको गहुँको बिउ खरिद गरिएको हो। प्रतिकेजी ८२ रुपैयाँ पर्ने बिउ किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताइन्।
वितरण गरिएको गहुँका बिउमध्ये एनएल–९७१ जातका तीन हजार तीन सय ४० केजी, विजय जातका चार हजार चार सय ८० केजी, र बाणगङ्गा जातका एक हजार एक सय ३० केजी रहेका छन्।
गहुँको बिउ वितरण कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले चालू आर्थिक वर्ष २०८२/८३ का लागि खाद्यान्न बालीका बिउ वितरणका उद्देश्यले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उहाँले किसानको बढ्दो मागका कारण प्राथमिकताका साथ गहुँको बिउ वितरण गरिएको बताए।
गिरीका अनुसार गाउँपालिकाले आगामी दिनमा कृषकलाई सघाउन बाली बीउ, प्रविधि र तालिमका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढाउने तयारी गरेको छ।
