सुर्खेत । कर्णाली प्रदेश सरकारको ‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दुध उत्पादक किसान लाभान्वित भएका छन् ।
सो कार्यक्रममार्फत लाभान्वित भएका किसान वीरेन्द्रनगर नगरपालिका–१२ खोरियाका ५१ वर्षीय डम्मर केसी हुनुहुन्छ । बाल्यकालदेखि नै खेती, गाई भैँसीपालनमा रुचि राख्नुभएका केसीले विगत ३० वर्षदेखि निरन्तर रूपमा कृषि पेसालाई अङ्गाल्दै आउनुभएको छ ।
केसीको गोठमा अहिले तीन वटा दुहुना (दुध दिने) भैँसी छन् । तीन वटा भैँसीबाट दैनिक रूपमा ४० लिटर दुध उत्पादन हुने गर्छ । “पहिला आठसम्म भैँसी पालेको थिए, तर अहिले कामदारको अभाव र आफैंले पनि नसक्ने भएपछि भैँसीको सङ्ख्या घटाएँ”, केसीले भन्नुभयो, “तर अहिले पनि दैनिक ४० लिटर दुध बेच्दै आएको छु ।” उहाँका अनुसार बिहान र बेलुका गरेर दैनिक ४० लिटर दुध सङ्कलन केन्द्रमा लैजाने गर्नुहुन्छ ।
उहाँका अनुसार चालीस लिटर दुधको मासिक रूपमा रु ७८ हजार आम्दानी हुने गर्छ । वीरेन्द्रनगर–१२ र १३ का किसानले उत्पादन गरेको दुध वीरेन्द्रनगर–८ मा रहेको तनुजा डेरी उद्योगले गाउँमा नै सङ्कलन गरी बिक्री वितरण गर्ने गर्छन् । किसानलाई उक्त डेरी उद्योगले अहिले प्रतिलिटर ६५ दिने गरेको छ ।
सरकारले आव २०७८-७९ देखि नै उपलब्ध गराउँदै आएको अनुदान रकम भने केसीले २०७९-८० बाट मात्र प्राप्त गर्नुभयो । केसीले पहिलो पटक ३० हजार, दोस्रो पटक १६ हजार अनुदान रकम प्राप्त गर्नुभएको थियो । यस आर्थिक वर्ष २०८१-८२ मा ३० हजार ७७५ अनुदान आउने केसीले बताउनुभयो । कृषिमा समर्पित किसानलाई राहत दिनका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘दुधमा प्रोत्साहन अनुदान’कार्यक्रम केसीजस्ता किसानका लागि राहतको स्रोत बनेको छ ।
केसीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सरकार अझ बढी योजनाबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “देशमा लाखौँ युवा वेरोजगार छन्, सरकारले कृषिलाई रोजगारीको माध्यम बनाउने हो भने विदेशिने युवालाई रोक्न सकिन्छ, स्वरोजगारका अवसर कृषिमा छन्, तर त्यसका लागि सहजीकरण र लगानी जरुरी छ ।”
उहाँ जस्तै वीरेन्द्रनगर–१२ कै ४५ वर्षीया दीपा भट्टराई पनि ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट लाभान्वित हुनुभएको छ । आफ्नो जीवनको अधिकांश समय कृषि र पशुपालनमै बिताउनुभएका उहाँले पनि विगत २० वर्षदेखि भैँसी, गाई, बाख्रा, अनि खेति गर्दै आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिल्यैदेखि नै सरकारका तर्फबाट केही सहयोग मिल्छ कि भन्ने आशा थियो, तर अब बल्ल आफूजस्ता किसानले सरकारबाट राहत पाएँ भन्ने महसुस भएको छ ।”
उहाँले अहिले दुई वटा दुहुना (दुध दिने) भैँसी पाल्दै आउनुभएको छ । उहाँले बिहान–बेलुकी गरी दुई पटकमा १८ लिटर दुध बिक्री गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “दुध सङ्कलन केन्द्र गाउँमा नै भएकाले दुध बिक्री गर्न टाढा जानु नपर्ने र समयको पनि बचत भएको छ ।” हाल उहाँ दुध बिक्रीबाट मासिक रूपमा ३५ हजार आम्दानी गर्दै आउनुभएको छ । पाँच हजार भैँसीको दानापानीमा खर्च हुने गरे पनि मासिक रूपमा ३० हजार बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।
प्रदेश सरकारले उपलब्ध गराएको अनुदान कार्यक्रमले उहाँ जस्ता किसानको जीवनमा नयाँ ऊर्जा भरेको छ । उहाँ भन्नुहुन्छ, “पहिलो पटक दुई हजार ७०० पाएँ, अनि दोस्रो पटक ११ हजार र अहिले १५ हजार आउँछ ।” उहाँका अनुसार अनुदानको प्रक्रिया सहज छ । “दुध सङ्कलन केन्द्रले सबै प्रक्रिया मिलाएर दिने भएकाले हामीले अनलाइन फाराम, कागजपत्रको झन्झट बेहोर्नु पर्दैन”, उहाँ भन्नुहुन्छ ।
यो अनुदान कार्यक्रमले कृषकको नाममा दुध बिक्री गर्ने डेरी तथा सङ्कलन केन्द्रमा अभिलेख राखेर सात महिनासम्मको दुध बिक्रीको आधारमा अनुदान वितरण गर्छ । दुध उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्न आव २०७८-७९ देखि प्रदेश सरकारले सिधैँ किसानको खातामा रकम जम्मा गर्दै आएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानलाई प्रोत्सान गर्न हिमाली जिल्लामा प्रतिलिटर १० र बाँकी जिल्लाहरूमा प्रति लिटर पाँच अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका किसानलाई १० तथा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रति लिटर पाँच अनुदान दिँदै आएको हो ।
मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभन्वित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८-७९ मा एक हजार ५०० दुध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार ७०० लिटर दुधमा २८ लाख २७ हजार भुक्तानी गरेको उहाँले बताउनुभयो ।
यस्तै आर्थिक वर्ष २०७९-८० मा तिन हजार ५३ किसान लाभान्वित भएका छन् । झण्डै २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिइएको थियो । आर्थिक वर्ष २०८०-८१ मा तिन हजार ७७६ किसान लाभन्वित भएका थिए । उक्त आर्थिक वर्षमा ३७ लाख ९१ हजार ४२९ लिटर दुध उत्पादन भएको थियो ।
चालु आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश सरकारले एक करोड २७ लाख आठ हजार विनियोजन गरेको छ । सूचना अधिकारी बरालले चालु आर्थिक वर्षमा एक हजार ६५ किसान लाभन्वित भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १० लाख ८४ हजार १४१ भुक्तानी भइसकेको छ भने बाँकी रहेका किसानलाई पनि भुक्तानीको काम भइरहेको छ । रासस