धनकुटा । आर्थिक वर्ष २०८१-०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निर्यात भएको छ। कृषि ज्ञान केन्द्र, धनकुटाका अनुसार गत वर्ष धनकुटाका १२७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको ४० मेट्रिकटन अलैंची निर्यात गरिएको हो।
बितेको आर्थिक वर्षमा अलैंचीको मूल्य ७५ हजारदेखि ९५ हजार रुपैयाँ प्रतिमनमा रहेको थियो। अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा ३४.८ मेट्रिकटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख रुपैयाँको मूल्य बराबरको निर्यात भएको थियो। यस वर्ष उत्पादनमा करिब ५.२ मेट्रिकटन वृद्धि र निर्यात मूल्यमा १ करोड ४ लाख रुपैयाँको बृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम मानिने अलैंची खेतीमा केही वर्षअघि रोग, कीरा र मूल्य घटावका कारण किसान निराश हुँदै थिए। तर यस वर्ष उत्पादन र मूल्य दुवैमा आएको सुधारले उनीहरूलाई राहत पुगेको छ।
कृषि ज्ञान केन्द्रले बगान व्यवस्थापन अन्तर्गत उचाइ अनुसार उपयुक्त जातको छनोट, नर्सरी स्थापना, सिँचाइ, मल्चिङ, जैविक मल प्रयोग, छायाँ व्यवस्थापन र रोग–कीरा नियन्त्रण जस्ता विषयमा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
धनकुटा, महालक्ष्मी, पाख्रिवास, साँगुरीगढी र छथर जोरपाटी क्षेत्रमा अलैंचीको व्यावसायिक खेती हुने गरेको छ।