धानबाली डुबानपछि महोत्तरीका किसान सिँघाराखेतीतर्फ

जलेश्वर । गत साउनमा आएको भीषण वर्षा र डुबानले जलेश्वर नगरपालिका–८ का करिब २०० बिघा क्षेत्रफलमा गरिएको धानखेती पूर्ण रूपमा नष्ट भएपछि किसानहरूले वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ ध्यान केन्द्रित गर्न थालेका छन्।

समयमै पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका धानबाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रूप लिएपछि नष्ट भएको थियो। खेतमा पुनः धान रोप्न नसकिने गरी पानी भरिएपछि किसानहरू बाध्य भएर सिँघाराखेती सुरु गरेको किसान मनोज साहले बताए। उनका अनुसार बर्सेनि धान डुबानमा पर्ने हुँदा आर्थिक क्षति मात्र नभई मेहनतसमेत खेर जाने गरेको छ।

स्थानीय किसान चन्देश्वर साहका अनुसार कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने भएकाले सिँघाराखेती किसानको आकर्षणको केन्द्र बन्दै गएको छ। यसले धानखेती असुरक्षित रहेका क्षेत्रमा उपयुक्त विकल्पको काम गर्ने विश्वास उनले व्यक्त गरे।

जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झाले पनि जमेको पानीमुनि लहरामा फल्ने सिँघारालाई पौष्टिक र लोकप्रिय फलका रूपमा वर्णन गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ अघि बढाउन आग्रह गरे। वडाध्यक्ष वरुण दाहालले बाढीपछिको चुनौतीलाई कम गर्न खेत तथा पोखरीमा सिँघाराखेतीलाई विकल्पका रूपमा अघि सारेको बताए।

जलेश्वर–४ का किसान रामजनम सहनीका अनुसार वर्षौँदेखि बाँझो रहेको जलाशयमा अहिले ५०–६० परिवारले सिँघारा उत्पादन सुरु गरेका छन्। असोजदेखि बिक्रीमा आउने सिँघारा प्रतिकिलो १२० देखि १८० रुपैयाँसम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी सम्भव हुने किसानहरूको भनाइ छ।

मिथिलाञ्चलमा पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, वृद्धवृद्धा तथा स्वास्थ्य समस्या भएका व्यक्तिले मन पराउने गरेको किसान जीबछ मोमिनले बताए। जलेश्वर–९ का किसान सिया यादवका अनुसार सिँघारा बेचेर प्रतिकिसान दुई–तीन लाखसम्म आम्दानी गर्न सकिन्छ।

यद्यपि सयौँ बिघामा सिँघाराखेती भइरहेको भए पनि स्थानीय कृषि कार्यालयसँग यसबारे कुनै अभिलेख छैन। जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई मौसमी उद्योगका रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि विशेष योजनासहित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *