पशुपालक किसानलाई सघाउँदै लुम्बिनी प्रदेश सरकार

रेसुङ्गा । लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रममार्फत भैँसी र बाख्रा पालन गर्ने कृषकहरूलाई सघाउँदै आएको छ ।

प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा विभिन्न समूह सहकारीमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सोहि अभियानअन्तर्गत मुसिकोट नगरपालिका–१ थामको रङनाममा दुध सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीले पारिश्रमिक कृषि सहकारी संस्था मार्फत सञ्चालन हुने गरेर सङ्कलन केन्द्र स्थापना गरेको हो । सङ्कलन केन्द्रको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले निरन्तर किसानको आम्दानी हुने भएकाले यो नै सवैभन्दा ठुलो विकास भएको बताउनुभयो ।

उहाँले कृषि र पशुपालननै समृद्धिको आधार भएकाले किसानहरू जुटेर उन्नतीको यात्रामा कस्सिनु सुखद पक्ष भएको बताउनुभयो । खरेलले मुसिकोट नगरपालिकाको तर्फबाट दैनिक १५ लिटरभन्दा बढी दुध बेच्नेलाई प्रतिलिटर पाँच रुपियाँ अनुदानको व्यावस्था रहेको बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बालिवस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम (भैँसी)अन्तर्गत केन्द्रको ३० लाख र उपभोक्ता समूहको १० लाख गरेर ४० लाख रुपियाँको लागतमा सङ्कलन केन्द्र निर्माण तथा व्यावस्थापन गरिएको हो ।

दुध सङ्कलन केन्द्रसहित भकारो सुधार २६ र डुड निर्माण २६ वटा, पिसाब सङ्कलन ट्याङकी २६ वटा, चापकटर चार थान, चिलिङ भ्याट एक वटा, स्टेडलेस बाल्टी २६ वटा, मिल्क ऐनलाइजर सेट एक थान, मिल्क क्यान दुई वटा, कम्वाइन मिल छ वटा, डाले घाँसका बिउ बेर्ना खरिद लगायतका सहयोग गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै, आदर्श कृषि तथा पशुपक्षी पालन समुह सत्यवति गाउँपालिका–३ मा बालीबस्तु विशेष सघन क्षेत्रअन्तर्गत बाख्रा वितरण गरिएको छ । विज्ञ केन्द्रको २० लाख रुपियाँ र समूहको सात लाख ८५ हजार १०० रुपियाँ गरेर २७ लाख ८५ हजार एक सय रुपियाँमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट २३ वटा खोर निर्माण, चार खोर सुधार, एउटा तराजु खरिद, प्रजननका लागि छ वटा बोका खरिद तथा व्यवसाय प्रवर्धन तालिम, घाँस, औषधी र प्रविधि प्रदान गरिएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीका सूचना अधिकारी रिम बहादुर रोकायले जानकारी दिनुभयो ।

त्यस्तै, लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमबाट लुम्पेकी कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सत्यवती गाउँपालिका–३ मा भैँसीका पाडा वितरण गरिएको छ । स्थानीय किसानलाई २२ वटा पाडी वितरण र २० गोठ मर्मत तथा औषधी र तालिम प्रदान गरिएको छ । विज्ञ केन्द्रको १० लाख रुपियाँ अनुदान रहेको थियो ।

त्यस्तै, बोटेगाउँ लघु उद्यम सक्रिय कृषक समूह मार्फत चन्द्रकोट गाउँपालिका–७ मा बाख्रा तथा बोका वितरण गरिएको छ । विज्ञ केन्द्रको १० लाख अनुदानमा २० माउ बाख्रा, बोका एक, खोर सुधार १९ वटा गर्नुको साथै तालिम, घाँस र औषधी वितरण गरिएको सूचना अधिकारी रोकायले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *