पाल्पा रिब्दीकोटका किसानले अकबरे खुर्सानीको आम्दानीबाट दसैँ–तिहार मनाए

पाल्पा । आर्थिक अभावका कारण विगतमा चाडपर्व मनाउन कठिनाइ खेप्ने पाल्पाको रिब्दीकोट गाउँपालिकाका किसानहरूले यस वर्ष आफ्नै पसिनाको फल अकबरे खुर्सानी बिक्री गरेर दसैँ र तिहार उल्लासका साथ मनाएका छन् ।

रिब्दीकोट–५ फेकका किसान जितबहादुर छहरीका घरमा यस वर्ष खुर्सानी बिक्रीको मुस्कान छाएको छ । उनी भन्छन्, “पहिले चाडपर्व आउँदा ऋण माग्नुपर्ने अवस्था हुन्थ्यो, तर अहिले खुर्सानी बेचेर सहजै खर्च जुट्यो । यसपालि अरूसँग पैसा सापटी माग्नु परेन ।” छहरीले दसैँअगाडि मात्र रु चार लाखको खुर्सानी बिक्री गरेको जानकारी दिए ।

अन्नबाली खेती गर्दा बाँदर, हरिण, बदेलजस्ता वन्यजन्तुबाट बारम्बार क्षति हुने भएपछि उनले वैकल्पिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका थिए । अहिले यो खेती नै यहाँका धेरै साना किसानहरूको जीविकाको आधार बनेको छ ।

फेककी अर्की किसान सीता खाम्चाले पनि खुर्सानी बिक्रीबाट ऋणमुक्त भएर चाडपर्व मनाएको बताइन् । “पहिले चाडपर्व आउँदा तनाव हुन्थ्यो, अहिले खुर्सानीले हर्ष ल्याएको छ,” उनले भनिन् । खाम्चाले यस वर्ष मात्रै रु चार लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेका अनुसार, हाल गाउँमा लगभग हरेक घरले अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायहरूको सहकार्यमा किसानहरूलाई आवश्यक प्राविधिक र आर्थिक सहयोग मिल्दै गएको उनले बताइन् ।

“पहिले बाँदर, मृग, बदेलले अन्न नष्ट गर्थे, अहिले किसानले नगदे बालीतर्फ मोडिएका छन्,” प्रमुख लामटाङ्गेले भनिन्, “यसपालि मात्रै गाउँपालिकाभित्रको खुर्सानी बिक्रीबाट रु चार करोडभन्दा बढी रकम भित्रिएको छ ।”

खुर्सानी उत्पादन सहकारी संस्थामार्फत बजारसम्म पुर्‍याइँदै आएको छ । पालिकाले बजारीकरण, भण्डारण र प्रशोधनमा सहयोग गरेपछि किसानहरू अझ उत्साहित बनेका छन् ।

रिब्दीकोट गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीका अनुसार, “कृषिमा केही हुँदैन भन्ने सोचले वैदेशिक रोजगारी बढेको थियो, तर अकबरे खुर्सानीले त्यस सोचलाई तोड्दै आत्मनिर्भरताको बाटो देखाएको छ ।” उनका अनुसार, करिब रु चार करोडभन्दा बढीको लगानीमा सुरु गरिएको यो खेतीले अहिले गाउँको आर्थिक स्वरूप परिवर्तन गर्न थालेको छ ।

अब रिब्दीकोटका किसानहरूका लागि खुर्सानी केवल मसला होइन — जीवन परिवर्तन गर्ने नगदे बाली बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *