पोखरा महानगरले मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको छ।

यस वर्ष महानगरपालिकाले ४०० मरिचका बिरुवा वितरण गरेको कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। बाँदरको प्रकोप नहुने, असिना लगायतका समस्याबाट पनि सुरक्षित हुने भएकाले वडाको सहकार्यमा मरिच खेती विस्तार गरिएको हो।

स्याङ्खुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले घर वरपरका सयौँ रूखका फेदमा मरिच लगाएर मनग्गे आम्दानी गर्दै आएका छन्। उनले २०४६ सालमा दुईवटा बिरुवाबाट सुरु गरेको खेतीबाट अहिले वार्षिक ६०–७० किलो मरिच उत्पादन गर्दै नर्सरीमार्फत बिरुवा बिक्री पनि गरिरहेका छन्।

बजारमा ‘कालो सुन’को रूपमा परिचित मरिचको मूल्य प्रतिकिलो करिब दुई हजार रुपैयाँ पर्छ। बास्तोलाको फार्मबाट पुरनचौर र माछापुच्छ्रे गाउँपालिकामा समेत बिरुवा विस्तार भइरहेको छ।

गत वैशाखमा महानगर प्रमुख धनराज आचार्यले बास्तोलाको मरिच खेती अवलोकन गर्दै यसलाई विस्तार गर्ने घोषणा गरेका थिए। कडरियाका अनुसार मरिच खेती कम लगानीमा अधिक मुनाफा दिने व्यवसाय हो, जुन प्रायः एक हजारदेखि १,२०० मिटर उचाइ र ओसिलो भूभागमा राम्रो फल्छ।

भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा व्यावसायिक रूपमा हुने यो बाली नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लामा पनि फलाइन्छ। यसले मसला मात्र होइन, आयुर्वेदिक औषधिमा पनि महत्व राख्छ।

वडा अध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार वडामा कृषितर्फ आकर्षण बढाउँदै पशुपालन र मसलाजन्य बाली उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ। हाल वडाबाट वार्षिक एक करोड ३० लाख रुपैयाँ बराबरको दूध बिक्री हुने गरेको उनले बताए।

मरिच खेती विस्तारले किसानको आम्दानी बढाउने मात्र होइन, स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *