बसाइँ गएको ६ वर्षपछि गाउँ फर्किएर बाख्रापालन

राजकुमार भट्टराई

खोटाङ। बसाइँ सरेर गएका खोटाङका एक व्यक्ति पुनः गाउँ फर्किएर बाख्रा पालनमा लागेका छन्। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५, चिसापानी खुटाका रमेश खत्री घर जग्गा छाडेर ६ वर्षअघि उदयपुरको गाईघाट भागलपुर बसाइँ सरेर जानुभएको थियो। ६ वर्षपछि पुनः गाउँ फर्किएर खत्रीले बाख्रापालन सुरु गर्नुभएको हो।

गाउँबाट बसाइँ सरेर सहरमा जानेहरू मात्र छैनन्। गाउँको माया गरेर, गाउँको सम्भावनालाई पहिल्याएर आफ्नै थाँतथलोमा फर्कने पनि छन् भन्ने उदाहरण खत्री बन्नुभएको छ। रमेश वैदेशिक रोजगारीका सिलसिलामा कतारमा चार वर्ष र अल्जेरियामा दुई वर्ष बसेको बताउनुहुन्छ।

दुःखजिलो गरेर जोडेको सम्पत्तिले भागलपुरमा जग्गा जमिन जोडर परिवारसहित २०७७ माघमा बसाइँ गएको सुनाउनुहुन्छ। फेरि विदेश जाने योजना बनाउनुभएका खत्रीलाई आफ्नै भाइले विदेश जानुको सट्टा बाख्रा पालन गर्न सुझाएनन् मात्र लगानी नै गरिदिन तयार भए। त्यसपछि २०८१ साउनमा गाउँ फर्किएको खत्रीको भनाइ छ। गाउँ फर्कदा छिमेकीले प्रशंसा गर्दै बाँझो जग्गा जोत्नसमेत सघाएको खत्रीले बताउनुभयो।

खत्रीका श्रीमती र दुई छोरा उदयपुरमै छन्। “श्रीमती र छोरा उतै छन्, म चै गाउँ फर्किएर घर सरसफाइ गरेँ। खेत ढाकेको झाडी फँडानी गरेँ, बाँझिएको खेत जोतेर घाँसका लागि बिरुवा रोपेको छु”, खत्रीले भन्नुभयो, “ २०८१ मङ्सिरमा १२ वटा बाख्रा र एउटा बोका किनेर व्यवसायिक रूपमा बाख्रापालनमा लागेको छु। अहिले बन्धनमा भएकोबेला बाख्रालाई घाँस दिनु, पानी दिनु, खोले दिनु, बाख्रा चराउन लैजानु, जङ्गलमै डाले घाँस काटेर ल्याउनु मेरो दिनचर्या बनेको छ।”

मिहिनेत गरे अनुसार बाख्रा पालनको आम्दानी सन्तोषजनक रहेको उहाँको भनाइ छ। खत्रीको २५ रोपनी उर्वर खेत छ। बारी भने दुई सुर्को मात्रै छ। घर र खेत हेरचाह गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो तर त्यी छिमेकी पनि गाउँ छाडेर हिँडे। त्यसपछि घर र जग्गा अलपत्र बनेको थियो। आँगनमा झार पलाएको थियो। खेतलाई झाडीले ढाकेको थियो। अहिले त्यही खेतमा र बकाइनोको बिरुवा हुर्किरहेको खत्रीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *