भोजपुरमा बाँदरको आतङ्क: खेतबारी सुनसान, किसान विस्थापित हुँदै

भोजपुर । बाँदरको बढ्दो उपद्रो जिल्लाका किसानका लागि प्रमुख समस्या बनेको छ। वर्षभरको मेहनत एकछिनमै सखाप पार्ने बाँदरका कारण तल्लो भेग र वनजंगल नजिकका बस्तीका कृषक हैरान भएका छन्।

मकै पाक्ने मौसमसँगै बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट गर्दैछन्। भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीलगायत नौवटै स्थानीय तहका बासिन्दा यस समस्याले पीडित छन्। बस्ती खाली भएपछि बाँदर माथिल्लो भेगसम्म पुग्ने गरेको स्थानीयको भनाइ छ।

रामप्रसादराई–६ का किसान राजेन्द्र राई भन्छन्, “बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने गाउँघरमै बस्न सक्ने अवस्था रहँदैन। बर्सेनि बस्ती खाली हुँदै गएको छ।”

भोजपुर नगरका किसान कमल तामाङका अनुसार बाँदरले खेतमा पसेर भर्खर रोपिएको धानदेखि बगैँचाका फलफूलसम्म नष्ट पार्दैछन्। केही बासिन्दाले उत्पादन जोगाउन स–साना टहरा बनाएर दिनरात हेरचाह गर्नुपरेको छ, तर यन्त्र–उपकरण पड्काएर तर्साउने उपाय पनि अब काम गर्न छाडेको किसानहरूको गुनासो छ।

किसानहरू सरकारसँग बाँदर नियन्त्रणका लागि तत्काल प्रभावकारी विकल्प खोज्न माग गर्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *